लकडाउन थप कडाइ,अब मोटरसाइकल चलाउन नपाइने

हेटौँडा, वैशाख २ । मुख्यमन्त्री डोरमणि पौडेलको निर्देशनपछि वाग्मती प्रदेशमा लकडाउन कडा बनाइने भएको छ । आजदेखि प्रदेश राजधानी हेटौँडामा लकडाउन अवधिभर मोटरसाइकल सञ्चालनमा पूर्ण रुपमा रोक लगाउने निर्णय भएको छ । किनमेलको समयलाई बिहान ६ देखि ९ बजेसम्म ३ घण्टा कायम गरिएको छ ।

 

वाग्मती प्रदेश मकवानपुरसँग जोडिएका प्रदेश २ का जिल्ला पर्सा र रौतहटमा समेत कोरोना भाइरसको सङ्क्रमित फेला परिसकेको अवस्थामा विभिन्न बहानामा व्यक्तिहरु बजार आउजाउ गरेका कारण लकडाउन प्रभावकारी नहुने देखिएकाले कडा बनाउन मुख्यमन्त्री पौडेलले निर्देशन दिएका हुन् ।

 

पौडेलले प्रदेशका सबै जिल्लामा वडावडामा खाद्य सामग्री किनमेल गर्न मिल्ने व्यवस्था गरेर नागरिकलाई एउटा वडाबाट अर्को वडामा आउजाउ गर्न नपाउने अवस्था बनाउन निर्देशन दिएका थिए । मुख्यमन्त्री पौडेलको निर्देशनपछि बसेको जिल्ला कमान्ड पोष्ट मकवानपुरको बैठकले लकडाउनलाई कडा गर्ने निर्णय गरेको हो ।

 

 

प्रदेशका अन्य जिल्लामा समेत लकडाउन कडा बनाइने र सङ्क्रमण फैलन नदिने वातावरण निर्माण गरिने प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख किशोरकुमार दाहालले जानकारी दिए । “हामी लकडाउन कार्यान्वयनमा प्रतिबद्ध छौं र वर्तमान संवेदनशीलतालाई ध्यान दिएर लकडाउनलाई थप साँघुरो बनाउँदै जान्छौं”उनले भने ।