‘काम गर्न पद होइन मन चाहिन्छ’

 

ललितपुर, बैशाख ७ । कलाकारसँग यस्तो शक्ति हुन्छ जसले सबैको ध्यान खिच्न सक्छ । व्यक्तिगत वा सामूहिक रुपमा पीडितका समस्या मत्थर पार्न सक्छ । कोरोना भाइरस (कोभिड–१९) का कारण बिपन्न बर्ग हायल–कायल भइरहेको बेला अधिकांश नेपाली कलाकार र राजनीतिककर्मी अहिले घरभित्रै तपस्यामा छन् । तर, ललितपुरका एकजना कलाकारलाई भने हिजोआज खाना खाने समेत फुर्सद छैन ।

 

कोरोनाको भयलाई मनबाट भगाएर विपन्न र मजदुर वर्गको सेवामा तल्लीन भइरहेका व्यक्ति हुन, कलाकार राज घिमिरे । चैत्र ११ गतेयता उनी घरघर र टोलटोलमा पुगेर राहत वितरण तथा कोरोना सचेतना बाड्दै आइरहेका छन् । सामाजिक सहयोग र राहत सामग्री किन्दा आफूसँग आर्थिक अभाव हुँदै गएतापनि उधोरोमै भएपनि अप्ठेरोमा परेकोलाई सहयोग गर्दै आइरहेको कलाकार घिमिरे सुनाउँछन् । ‘मसँग हुँदा मात्रै होइन नहुँदा पनि खर्चपर्र्च र ऐचोपैचो गरेर पनि दुःखीलाई हेरेको छ, मन भए पैसै चाहिन्छ भन्ने छैन,’ उनले सुनाए ।

 

विश्वमा फैलिएको कोरोना भाइरसको पीडा मातृभूमि नेपालले पनि भोगिरहेको छ । चैत्र ११ गतेदेखि सरकारले लकडाउन गरेयता सर्वसाधारण त घरभित्रै छन् । तर, विपद्को बेला फिल्डमा देखिनुपर्ने धेरैजसो कलाकार र राजनीतिकर्मी पनि घरभित्रै बसिरहेको बेला कलाकार घिमिरे भने दुःखीका सारथी बनेका छन । लकडाउन भएयता उनले ललितपुरको गोदावरी नगरपालिका र बागमती गाउँपालिका खाद्यान्न लगायत कोरोनाबाट सुरक्षित रहने साम्रग्रीहरु वितरण गरेका हुन् ।

सरकारको उपस्थिति नभइरहेको बेला उनी विपन्नको सहारा बनेर उभिएका छन् । विहानैदेखि बेलुकी अबेरसम्म कलाकार घिमिरे राहत वितरण, सुचना प्रवाह र किटनाशक औषधि छर्कन व्यस्त रहने गरेका छन् । सात–आठ वर्षअघि निर्माण भएका दुई चलचित्रमा घिमिरेले निभाएको भूमिकालाई दर्शकले खुवै रुचाएका थिए । त्यसयता भने उनी चलचित्र क्षेत्रलाई थाति राख्दै सामाजिक कार्यमा जुटेका थिए । गोदावरीका स्थानीयवासी घिमिरे व्यक्तिगत समस्या र कोरोनोको त्रासलाई प्रवाह नगरी जनताको घरदैलोमा पुग्ने गरेका छन् ।

 

अहिले सबैजसो घर भित्रै छन्, अरुबेला काम गरेर खानेहरू बेकाम भएर बसेका छन् उनीहरुका दुःख देख्दा मलाई यसै बस्न मन लागेन, जोखिम चिर्दै भएपछि गरिबलाई सक्दो सहयोग गरिरहेको छु,’ उनले सुनाए । उनले गोदावरी र बागमती क्षेत्रका १ सय २० भन्दा बढी घरधुरीमा १ सय २० बोरा चामल वितरण गरिसकेका छन् । विपन्न, एकल महिला, सुत्केरी, असाह्य, रोगीलाई वितरण लक्षित गरेर व्यक्तिगत खर्चमा राहत वितरण गरेको उनले बताए । त्यस्तै, प्रतिपरिवार दाल १ केजी, तेल १ लिटर, नुन १ प्याकेट, चिनी १ केजी, १ वटा साबुनलगायत सामग्री पनि वितरण गरेका छन् । गोदावरी नगरपालिकाको विपद व्यवस्थापन कोषमा ५५ हजार ५ सय ५५ रुपैयाँ मेयर गजेन्द्र महर्जनलाई हस्तान्तरण गरेका छन् ।

घिमिरे सिर्जनशील कलाकार मात्रै हैनन् । उनी कुशल समाजसेवी र राजनीतिज्ञ पनि हुन् । नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) ललितपुरका जिल्ला कमिटी सदस्यका रुपमा घिमिरेले दायित्व निभाईरहेका छन् । कमिटीमा उनले लकडाउन भएयता गोदावरी नगरपालिका भित्रका वडा नं. १ देखि १४ वडासम्म किटनाशक औषधी छर्कने, माक्स, पन्जा, औषधी, सेनेटाइज वितरण गर्ने, जनचेतना फैलाउनेजस्ता कार्य गर्दै आइरहेका छन् । यसलाई निरन्तरता दिने उनको भनाई छ ।

 

लकडाउनको बेला उनले गोदावरी नगरापालिकामा मात्र नभई ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका र बागमती गाउँपालिकासम्म पुगेर कोरोनाबारे सचेतनाका साथै राहत पनि बाडेका छन् । राजनीतिककर्मी र स्थानीय सरकारको उपस्थिति नभएको ठाउँमा उनको उपस्थिति देखिएको छ । सरकारको राहत पर्खिएर बसेका स्थानीयलाई उनैले खुशी पार्दै आइरहेका छन् । महामारीको बेला गरिबको अवस्थालाई ख्याल गर्दै उनी घरघरमा पुगेपछि स्थानीय पनि दंग छन् । सरकारले कोरोना संक्रमणको भयलाई ध्यानमा राख्दै सर्वसाधारणलाई घर बाहिर ननिस्कनु भनेको छ । तर, दैनिक परिश्रम गरेर छाक टार्दै आएका सर्वसाधारणलाई यतिबेला दैनिकी गुजार्न कठिन भइरहेको अवस्था छ ।