देजमोले निःशर्त राहत वितरण सहज र सुलभ बनाउन जोडदार माग

काठमाडौं,बैशाख ७। देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले एक वक्तव्य जारी गर्दै लक डाउनका कारण खाद्य सामग्रीको अभावमा खासगरी तल्लो वर्गका जनताको जीवन जोखिममा परेको भन्दै निःशर्त रुपमा विपन्न वर्गलाई राहत वितरण सहज र सुलभ बनाउन जोडदार माग गरेको छ ।

मोर्चाका अध्यक्ष सीपी गजुरेलले आइतबार वक्तव्य जारी गर्दै यस्तो माग गर्नुभएको हो । वक्तव्यमा राहत वितरण गर्ने सन्दर्भमा नागरिकता माग गर्ने र सो नहुनेहरुलाई राहत सामग्री नदिने नियम बनाएर पीडितहरुलाई झन् सास्ती दिएको भन्दै यो सर्त नबनाइकन सहज रुपमा आवश्यकता पर्ने सबैलाई राहत उपलब्ध गराउन सम्बन्धित सबै निकायहरुसँग जोडदार माग गरिएको छ ।

वक्तव्यमा भनिएको छ, “कोभिड १९ का सन्दर्भमा सरकारव्दारा लगाइएको लक् डाउन (बन्दाबन्दी)का दौरानमा खाद्य सामग्रीको अभावमा खासगरी तल्लो वर्गका जनताको जीवन जोखिममा पर्ने खतरा भएको सर्व विदितै छ ।

सामग्री वितरण गर्ने सन्दर्भमा नागरिकताको माग गर्ने र सो नहुनेहरुलाई राहत सामग्री नदिने नियम बनाएर यसबाट धेरैलाई वञ्चित गर्ने गरिएको थाहा भएको छ । राहत सामग्री आवश्यकता पर्ने सबैलाई उपलव्ध गराउनु पर्ने यतिखेरको अवस्थामा नागरिकताको माग गर्नुको औचित्य छैन । त्यसकारण, यसलाई शर्त नबनाइकन सहज रुपमा आवश्यकता पर्ने सबैलाई राहत उपलव्ध गराउन हामी सम्वन्धित सबै निकायहरु संग जोडदार माग गर्दछौं ।

वक्तव्यमा लकडाउनको नियम पालना गर्दै बिना भेदभाव आवश्यक सबैलाई राहत उपलव्ध गराउने काममा सहयोग गरी सक्रिय भूमिका निर्वाह गर्नका लागि देशभक्त जनगणतान्त्रिक मोर्चाका सबै तहका कमरेडहरुलाई विशेष आह्वान समेत गरिएको छ ।