आज आमाको मुख हेर्ने दिन : मास्क लगाएर आमाको अनुहार हेर्न अनुरोध

काठमाडौँ, वैशाख ११ । वैशाख कृष्ण औँसीका दिन बिहीबार जन्म दिने आमाप्रति सक्नेले आभूषण, वस्त्र, स्वास्थ्य अनुकूलका फलाहार, मिठाइ अर्पण गरेर सद्भाव व्यक्त गर्दै आमाको अनुहार हेरिँदैछ ।

 

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाउने र मीठा मीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ ।

 

आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

 

शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देव ऋण, मनुष्य ऋण र पितृ ऋण तिर्नैपर्छ भनिएको छ । पितृ ऋण तिर्न मातापितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने मृत्युपश्चात् श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ ।

 

आजको दिन दिवंगत आमाको सम्झनामा यहाँस्थित थानकोट मातातीर्थमा मेला लाग्छ । आमा नहुने नरनारी आज बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर(विष्णु र शिव)को दर्शन र पूजा गर्दछन् । आमा बित्नेले सके प्रत्येक वर्ष, नसके एकपटक मातातीर्थमा श्राद्ध गर्नुपर्ने मान्यतासमेत छ ।

 

सो तीर्थको परिसरमा मूर्तिकार रामकृष्ण भण्डारीद्वारा निर्मित सबैकी आमाको प्रतीक ‘साझा आमा’को मूर्ति पनि स्थापना गरिएको छ । यसले गर्दा मातातीर्थको आकर्षण बढाएको छ ।

 

मातातीर्थको उत्पत्तिका सम्बन्धमा प्रचलित एउटा कथा यस्तो छ । कथा अनुसार धेरै वर्ष पहिले त्यस ठाउँमा गाईबस्तु चराउने चौर थियो । एक दिन एउटा गोठालाले सो चौरमा फ्याँकेको रोटीको टुक्रा हरायो । उसले अचम्म मानी रोटीको अर्को टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो । अरू गोठालाहरूले पनि रोटीका टुक्रा फ्याँके, तिनमध्ये आमा जीवित हुनेले फ्याँकेको रोटी त्यहीँ रही आमा नहुनेले फ्याँकेका रोटीमात्र अलप भए ।

 

कथाअनुसार पहिलोचोटी रोटी फ्याँक्नेकी आमा पनि थिइनन् । त्यो दिन वैशाख कृष्णपक्षको औँसी थियो । दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन । सो कुरा चाल पाई गाउँलेहरूले औँसीका दिन मृत आमा त्यस ठाउँमा आई आफ्ना छोराछोरीले दिएको चिज खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाइ त्यसको नाम मातातीर्थ राखे ।

 

यसरी हरेक वर्ष आजकै दिन आमा नहुनेहरूले त्यहाँ गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृ दिवस मनाउन थाले र मातातीर्थ मेला लाग्न थाल्यो ।

आमाको महत्वलाई संस्कृतका विभिन्न श्लोकमा यसरी वर्णन गरिएको छ, “मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव ।”

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी !
‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति !

औँसीलाई पितृको तिथि मानिन्छ । भदौ कृष्ण औँसीमा बाबुको मुख हेर्ने पर्वका रुपमा मनाइन्छ । यस दिन बाबुलाई मीठा चीजबीज खान र राम्रा कपडा लगाउन दिइन्छ । बाबुको मुख हेर्ने दिन उपत्यकाको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वरमा दिवंगत पिताको सम्झनामा श्राद्ध गरिन्छ ।

 

गोकर्णेश्वरलाई पितृतीर्थका रुपमा लिइन्छ । यहाँ श्राद्ध गरेमा घर र मामाघरका समेत सात पुस्ताका पितृले मोक्ष पाउँछन् भन्ने मान्यतासमेत छ ।

 

काठमाडौँ महानगरपालिकाअन्तर्गत पिङ्गलास्थानस्थित रामघाट स्वास्थ्य केन्द्रकी डा। उरुसा पौडेल भन्छन्, आमाको अनुहार हेर्ने अति पवित्र दिनमा सबैले सामाजिक दूरी कायम गरेर मात्र आमाको अनुहार हेर्दा राम्रो हुने सुझाव दिन्छिन् ।