नेकपा भित्र खैलाबैला: पूर्व माओवादी मन्त्रीहरू सामूहिक राजीनामा दिने तयारीमा

काठमाडाैं, बैशाख १७। नेकपा भित्र खैलाबैला बालुवाटारले हस्ताक्षर अभियान सुरु गरेर एकतामाथि खलल पुर्याउने खोजेकाे भन्दै पूर्वमाओवादी केन्द्रका ६ जनै  मन्त्रीहरु रामबहादुर थापा बादल, लेखराज भट्ट, बिना मगर, रामेश्वर राय यादव, वर्षमान पुन र शक्ति बहादुर बस्नेतले राजीनामा दिनेसम्मको तयारी गरेको स्रोतको दाबी छ । 

 

प्रचण्डनिकट उच्च स्रोतको दाबीअनुसार पूर्व माओवादी केन्द्र खेमाका कुनैपनि सांसद प्रधानमन्त्री ओलीको पक्षमा नउभिने र वारपारको अवस्था आए अध्यक्ष दाहाललाई नै साथ दिने उनीहरुको भित्री तयारी रहेकाे स्राेतकाे दाबि छ । त्यतिमात्रै नभएर, ओली हटाउनेबारे आजको सचिवालय बैठकमा अध्यक्ष दाहाल र बरिष्ठ नेता माधव कुमार नेपाले संयुक्त प्रस्ताव लगे नेता नेपालनिकट मन्त्रीहरु घनश्याम भुषाल र यागेश भट्टराईले पनि पदबाट राजीनामा दिने र ओलीविरुद्ध उभिने मनशाय बनाएका छन् ।

 

यसअघि प्रधानमन्त्री ओलीको पक्षमा उभिने भनेर चर्चामा आएको पूर्व माओवादी केन्द्र खेमाका मन्त्री लेखराज भट्टले हस्ताक्षर अभियानमा सहभागी नहुने बताउन थालेको स्रोतको दाबी छ । आफू पार्टी एकताको पक्षमा रहेको अहिले हस्ताक्षर अभियान चलाउन नहुने उनको भनाई छ । तर, यदि हस्ताक्षर अभियान नै चलाएर एकता भाँड्ने प्रयास भए आफू अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्षमा उभिने उनले आफूनिकट नेताहरुसँग बताउन थालेका छन् । भट्टले आजमात्रै अध्यक्ष दाहालसँग खुमलटारमा पुगेर भेटवार्ता गरेको स्रोतको दाबी छ ।

 

सचिवालय बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्रीनिवास बालुवाटारमा ओली पक्षधर सांसदहरुको भेला भएको र ओलीको पक्षमा प्रचण्डनिकट सांसदहरुले समेत हस्ताक्षर गर्ने समाचार बाहिर आएपछि पूर्व माओवादी केन्द्र खेमाका सांसदहरु ओलीको कदमलाई लिएर सशंकित बनेका छन् । सचिवालय बैठकमा ओलीलाई साथ दिएका रामबहादुर थापा बादलले समेत प्रचण्डलाई आज भेटेका थिए । उनले आफूले अन्तिम अवस्थामा दाहाललाई नै साथ दिने स्पष्ट संकेत दिएका छन् ।