गृह मन्त्रालयले काठमाडौं उपत्यकाका सबै नाका सिल गर्न परिपत्र (विज्ञप्तिसहित)

काठमाडौं, जेठ ८ ।काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्दै जाँदा गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्र्ने निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।

 

उपत्यकाका जनप्रतिनिधिको छलफलपछि सिंगो उपत्यका सिल गर्ने गृहमन्त्रालयले यस्तो निर्णय गरी कार्यान्वयनमा ल्याउन लागेको हो ।

 

गृह मन्त्रालयले लकडाउन अवधिभर उपत्यका प्रवेशमा निषेध गर्ने निर्णय गरेको छ । गृहमन्त्रालयले काठमाडौं उपत्यकामा सबै निकायलाई परिपत्र जारी गर्दै उपत्यका प्रवेश गर्ने सबै नाकाहरु सिल गर्ने निर्णय गरेको हो ।

 

उपत्यकाभित्रका ३ वटै जिल्लामा पास लिएका सवारी साधनहरु हिड्न पाउने भएपनि उपत्यकालाई बाँकी नेपालबाट ओहोर दोहोर गर्न भने नपाइने गरी व्यवस्था गरिएको छ ।

 

गृहमन्त्रालयद्वारा जारी सूचना अनुसार अब कोही पनि मानिस काठमाडौंभित्र प्रवेश गर्न पाउने छैन । सरकारले तोकेको अत्यावश्यक कामका लागि बाहेक काठमाडौं छिर्न नपाउने गरी सिल गर्ने निर्णय भएको पत्र गृहले मातहतका निकायलाई पठाएकोछ ।

 

गृहले उपत्यकाका सबै स्थानीय तहलाई कार्यान्वयनका लागि पठाएको पत्रमा काठमाडौँ उपत्यका प्रवेशका सबै नाकाहरु अत्यावश्यक प्रयोजन बाहेक पूर्णरुपमा सिल गर्न आग्रह गरिएको छ । गृहमन्त्रालयले लुकिछिपी हुने प्रवेश समेत पूर्ण रुपमा रोक्न मातहातका सबै निकायलाइ निर्देशन दिइएको छ।