क्रान्तिकारी माओवादी निकट जबस मोर्चाहरुले ‘एमसीसी पास गरेर नेपाललाई अमेरिकी साम्राज्यवादको अखडामा परिणत नगर’(संयुक्त वक्तव्यसहित)

काठमाडौं,जेठ १० । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्ध जनवर्गीय संगठन तथा जातीय मोर्चाले संयुक्त रुपमा एक वक्तव्य जारी गर्दै मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) नेपाललाई अमेरिकी साम्राज्यवादको अखडामा परिणत गर्ने साम्राज्यवादी परियोजना भएको भन्दै कुनै पनि हालतमा संसदबाट एमसीसी पास नगर्न जोडदार माग गरेका छन् ।

संयुक्त वक्तव्यमा भनिएको छ, “ मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) अमेरिकी सैन्य रणनीतिको हिस्सा हो र यो नेपालको राष्ट्रिय स्वाधीनताका विरुद्ध छ भनेर देशभक्त नेपालीहरुबाट चर्को विरोध हुँदै आएको कुरा सर्वविदतै छ ।

 

एमसीसी संसदबाट पारित भयो भने नेपालको असंलग्न परराष्ट्र नीति समाप्त हुने र नेपाल अमेरिकी साम्राज्यवादको क्याम्पमा सामेल हुन पुग्नेछ । र, नेपाल अमेरिकी साम्राज्यवादको अखडामा परिणत हुन पुग्नेछ । परिणामस्वरुप नेपालको राष्ट्रियता र सार्वभौमिकतामा गम्भीर प्रकारको आँच पुग्ने कुरा निश्चित छ । तसर्थ, एमसीसी सम्झौतालाई कुनै पनि हालतमा संसदबाट पास नगर्न जोडदार माग गर्दछौं ।

 

वक्तव्यमा सरकारले हालै जारी गरेको लिम्पियाधुरासहितको नयाँ नक्साको विषयमा भनिएको छ, “ विगत केही वर्षदेखि लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायत भारतले अतिक्रमण गरेको भूमि फिर्ता गर्न र लिपुलेकमा भारतले बनाएको सडकको विरुद्ध आन्दोलित हुँदै आएको पृष्ठभूमिमा हालै ओली सरकारले जारी गरेको लिम्पियाधुरासहितको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई हामी सकारात्मक रुपमा लिन्छौं र यसलाई हामीलगायत देशभक्त जनताहरुले गरेको आन्दोलनको प्रतिफलको रुपमा ग्रहण गर्दछौं । साथै, अतिक्रमित भूमि फिर्ताका लागि सीमामा नेपाली सुरक्षाकर्मी तैनाथ गर्न, सीमामा तारबार लगाउन र प्रभावकारी कुटनीतिक वार्तासँगै यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्न पनि जोडदार रुपमा माग गर्दछौं ।

यस्तो छ वक्तव्यको पूर्णपाठ :

“संयुक्त वक्तव्य

राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयलाई लिएर संघर्ष गर्दै आएका हामी निम्नि बमोजिमका संगठन तथा मोर्चाहरुले निम्न लिखित विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै उठाएका विषयहरुको सम्बोधनका लागि जोडदार माग गर्दछौं ।

१– विगत केही वर्षदेखि लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायत भारतले अतिक्रमण गरेको भूमि फिर्ता गर्न र लिपुलेकमा भारतले बनाएको सडकको विरुद्ध आन्दोलित हुँदै आएको पृष्ठभूमिमा हालै ओली सरकारले जारी गरेको लिम्पियाधुरासहितको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई हामी सकारात्मक रुपमा लिन्छौं र यसलाई हामीलगायत देशभक्त जनताहरुले गरेको आन्दोलनको प्रतिफलको रुपमा ग्रहण गर्दछौं । साथै, अतिक्रमित भूमि फिर्ताका लागि सीमामा नेपाली सुरक्षाकर्मी तैनाथ गर्न, सीमामा तारबार लगाउन र प्रभावकारी कुटनीतिक वार्तासँगै यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्न पनि जोडदार रुपमा माग गर्दछौं ।

 

२– मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) अमेरिकी सैन्य रणनीतिको हिस्सा हो र यो नेपालको राष्ट्रिय स्वाधीनताका विरुद्ध छ भनेर देशभक्त नेपालीहरुबाट चर्को विरोध हुँदै आएको कुरा सर्वविदतै छ । एमसीसी संसदबाट पारित भयो भने नेपालको असंलग्न परराष्ट्र नीति समाप्त हुने र नेपाल अमेरिकी साम्राज्यवादको क्याम्पमा सामेल हुन पुग्नेछ । र, नेपाल अमेरिकी साम्राज्यवादको अखडामा परिणत हुन पुग्नेछ । परिणामस्वरुप नेपालको राष्ट्रियता र सार्वभौमिकतामा गम्भीर प्रकारको आँच पुग्ने कुरा निश्चित छ । तसर्थ, एमसीसी सम्झौतालाई कुनै पनि हालतमा संसदबाट पास नगर्न जोडदार माग गर्दछौं ।

 

३– महामारी नियन्त्रण तथा रोकथामका नाममा गरिएको लकडाउनकै बीचमा तीव्र रुपमा एकातिर कोरोना संक्रमण फैलिरहेको छ भने अर्कोतिर जनजीवन निकै कष्टकर र अस्तव्यस्त बन्न पुगेको छ । यस सन्दर्भमा (क) घरको कम्तिमा एक जनाको पीसीआर परीक्षण गर्ने व्यवस्था अविलम्ब मिलाइयोस् ।(ख) भोकमरीको चपेटामा पर्न पुगेका अतिविपन्न, दैनिक मजदुरी गर्ने श्रमिक वर्ग लक्षित राहतको व्यवस्था गरियोस् । (ग) सीमामा तथा विदेशमा अलपत्र नागरिकको अविलम्ब उद्दार गरी क्वारेन्टाइनको अवधि पश्चात परिवारको सम्पर्कमा जाने प्रबन्ध मिलाइयोस् । (घ) अग्रपंक्तिमा रहेर महामारीका विरुद्ध लडिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी तथा सञ्चारकर्मीहरु उच्च जोखिममा रहेको हुँदा उनीहरुको स्वास्थ्यमा यथोचित ध्यान दिइयोस् ।
२०७७÷०२÷१०

संयुक्त वक्तव्यका लागि

डा.ओम गुरुङ – अध्यक्ष– अखिल नेपाल आदिवासी जनजाति महासंघ

सीताराम तामाङ– अध्यक्ष– अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)

अम्बिका मुड्भरी– अध्यक्ष– अखिल नेपाल महिला संघ (क्रान्तिकारी)

प्रा.डा.जगदीशचन्द्र भण्डारी– अध्यक्ष– अखिल नेपाल राष्ट्रिय प्राध्यापक संगठन

हिरामणि दुःखी– महासचिव अखिल नेपाल जनसाँस्कृतिक महासंघ

हुकुमबहादुर सिंह– अध्यक्ष– राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी मञ्च, नेपाल

इन्द्र राउत– अध्यक्ष– क्रान्तिकारी पत्रकार महासंघ

ईश्वर तिमिल्सिना– अध्यक्ष– अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ

अमीर महर्जन– अध्यक्ष– क्रान्तिकारी युवा लिग, नेपाल

हरिकृष्ण गजुरेल– अध्यक्ष– अनेरास्ववियू (क्रान्तिकारी)

अमर परियार– अध्यक्ष– नेपाल दलित मुक्ति मोर्चा

विजय रत्न बज्राचार्य– अध्यक्ष– अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन