लकडाउन मोडालिटीबारे छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दै

 काठमाडौं,जेठ,२८ । आज लकडाउनको मोडालिटीलगायतका विषयमा मन्त्रिपरिषद बैठक दिउँसो २ बजे बस्दै छ । 

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि नेपालभर लकडाउन घोषणा गरिएको छ । लामो समयदेखिको लकडाउनले धेरैको जीविकोपार्जनमा समस्या भएपछि अब लकडाउनलाई क्रमशः खुकुलो बनाउने नीति सरकारले लिएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोभिड १९ (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्ताव तयार पारेर मन्त्रिपरिषदमा बुझाइसकेको छ । दुई हप्ताको एक चरण गरी पाँच चरणमा लकडाउन क्रमशः खुकुलो बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ ।

 

यसअघि कोभिड १९ क्राइसिस म्यानेजमन्ट सेन्टर (सीसीएमसी) ले ६ चरणमा लकडाउन खुकुलो गर्ने गरी प्रस्ताव बुझाएको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओली लकडाउन खुकुलो बनाउनु नहुने अडानमा थिए ।

 

अन्तिममा दुवै प्रस्तावलाई मर्ज गरेर ५ चरणमा लकडाउन खुकुलो बनाउने गरी प्रस्ताव रक्षा मन्त्रालयले लैजाने तयारी गरेको छ । एक चरण दुई हप्ताको हुनेछ।रक्षामन्त्री पोखरेलले भने सयभन्दा कम एक्टिभ केस भएका जिल्लामा जेठ २५ देखि नै लकडाउन खुकुलो बनाउने प्रस्ताव पेश गरेका थिए ।