गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सक्रमण पुष्टि

काठमाडौं ,असार २ । गण्डकी प्रदेशमा थप १८ जना कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ। गोरखामा १०, स्याङ्जामा ४, पूर्वी नवलपरासीमा २ तथा कास्की र बाग्लुङमा एक–एक जना कोरोना संक्रमित फेला परेका हुन् ।याे सँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमित हुनेहरुको संख्या २२३ पुगेको छ ।

 

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा.विनोद विन्दु शर्माका अनुसार गोरखा नगरपालिकाका २१ देखि ५३ वर्ष उमेर समूहका ७ पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

यसैगरी गोरखाकै बारपाक सुलिकोट गाउँपालिकाका ५३ र २५ वर्षका दुई जना पुरुषमा पनि कोरोना देखिएको छ ।स्याङ्जाको चापाकोट नगरपालिकाका १८, ३५, ३९ र १८ वर्षका चार जना पुरुषमा कोरोना संक्रमण पाइएको छ ।

 

यस्तै पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाका एक–एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 

यसैगरी कास्कीको पोखरा महानगरपालिकाका २१ वर्षीय पुरुष र बाग्लुङको ताराखोला गाउँपालिकाको ३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

 

संक्रमितहरु सबै भारतबाट आएकाहरु हुन् । उनीहरु क्वारेन्टिनमा छन् । अब सम्बन्धित जिल्लाको आइसोलसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक डा.शर्माले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।