साढे ३ महीनादेखि बन्द पुनः श्रमस्वीकृति खुला

काठमाडौं,असार १९ । साढे ३ महीनादेखि बन्द गरेको वैदेशिक रोजगारको पुनः श्रमस्वीकृति सरकारले बिहीवारदेखि खुला गरेको छ । वैदेशिक रोजगारीबाट बिदामा स्वदेश फर्किई बन्दाबन्दीका कारण नेपालमै अड्किएका तथा करार अवधि बाँकी रहेका हकमा कोरोना भाइरससम्बन्धी स्वास्थ्य प्रोटोकलको पालना गरी वैदेशिक रोजगारीमा जान दिनेगरी पुनः श्रमस्वीकृति सुचारू गरिएको हो ।

 

असार १५ गतेको मन्त्रिपरिषद्को बैठकले बिदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेकाको हकमा कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालाना गर्ने गरी वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेको थियो । त्यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० को असार ७ गतेको बैठकले श्रमस्वीकृति खुला गर्न श्रम मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको थियो ।

 

श्रम कार्यालय, ताहाचलका अनुसार पुनः करार नवीकरण गरेका र भिसाको म्याद थप भएका व्यक्तिले आवश्यक कागजातसहित निवेदन दिएमा पुनः श्रमस्वीकृति प्रदान गरिनेछ । श्रम कार्यालय ताहाचलबाट बिहीवारदेखि नै यस्तो स्वीकृति दिन थालिसकेको छ । श्रम कार्यालय प्रमुख उमेश बस्नेतले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट पत्र प्राप्त भएसँगै कार्यालयमा आउनेहरूलाई पुनः श्रमस्वीकृति दिन थालिएको बताए । ‘वैदेशिक रोजगारी खुला गरिएका सबै देशको लागि पुनः श्रमस्वीकृति दिन थालिएको छ । तर, नयाँ श्रमस्वीकृति भने अहिले दिइने छैन,’ उनले भने ।

 

वैदेशिक रोजगार विभागबाट श्रमस्वीकृति पाए पनि सहज रूपमा अन्तरराष्ट्रिय उडान नभएका कारण ती देशमा जान कठिन छ । यद्यपि यात्रुको संख्या धेरै भई चार्टर उडान भएमा वा ती देशबाट यात्रु ल्याउन चार्टर उडान भएको अवस्थामा नेपालबाट पनि श्रमस्वीकृति लिएकाहरूले यात्रा गर्न सक्नेछन् ।

 

कोरोना सक्रमण बढेसँगै कोरोना उच्चस्तरीय समन्वय समितिले गत फागुन २९ गतेदेखि वैदेशिक रोजगारीमा जाने कामदारको श्रमस्वीकृति स्थगन गर्न निर्देशन दिएको थियो । सो निर्देशनपश्चात् विभागले गत फागुन ३० गतेदेखि वैदेशिक रोजगारीमा जाने, घर बिदामा नेपाल आएका तथा नयाँ श्रमस्वीकृति अनिश्चितकालका लागि स्थगन गरेको थियो ।

श्रम मन्त्रालयले तत्कालका लागि पुनः श्रमस्वीकृति दिन वैदेशिक रोजगार विभागलाई पत्राचार गरेअनुसार मातहतका कार्यालयहरूले श्रमस्वीकृति दिन थालेको श्रम विभागका महानिर्देशक कुमार दाहालले बताए ।

आर्थिक अयिभानमा खबर छ ।