राष्ट्रघातको इतिहास दोहोराउने षडयन्त्रमा ओली

नेकपा स्थायी समितिका सदस्यहरूले ओलीको प्रधानमन्त्री पदबाट राजिनामाको माग अहिले जे जसरी गरिरहेका छन्, कुनै नयाँ कुरा होइन, किनभने उनीहरुले ओलीको प्रधानमन्त्री पदबाट राजिनामाको माग घेरै पहिलेदेखि नै गर्दै आएका हुन तर ओलीले अहिले त्यसलाई “नेकपा भित्रका केही मानिससँग मिलेर भारतले मलाई प्रधानमन्त्री पदबाट हटाउन पुरा शक्ति लगाइरहेको छ ।” भनेर आफ्नो राजीनामाको विषयलाई अन्तराष्ट्रियकरण गरेका छन् । कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई नेपालको नक्शामा देखाएर नक्साको प्रकाशन गर्ने तथा भारतीय सेना कालापानीबाट हटेर जानुपर्छ भन्ने प्रधानमन्त्री ओलीले संसदमा दिएको अभिव्यक्तिका कारण भारत उनीसँग रिसाएकोछ भन्ने निक्योल ओली र उनका पक्षधरहरुको छ ।

जहाँसम्म कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई नेपालको नक्शामा देखाएर नक्साको प्रकाशन गर्ने तथा भारतीय सेना कालापानीबाट हटेर जानुपर्छ भन्ने भनाइ हो, त्यो ओलीको मात्रै नभई सबै नेपाली जनतालगायत सबै राजनीतिक पार्टीहरुको एक मतमा भएको हो । यसलाई ओलीले मैले गरेको हो भनेर भन्ने आधार बलियो छैन् । यद्धपि सडक र सदनभित्रको लामो समयदेखिको दवावका कारण सरकारको प्रधानमन्त्रीको नाताले ओलीले यो कामको नेतृत्व लिएका हुन । जे जस्ता कारणहरुले भएता पनि ओली सरकारले कालापानी सहितका भू–भागहरूमा नेपालको दाबी गर्ने, ती भू–भागहरूलाई नेपालमा देखाएर नक्सा प्रकाशित गर्ने वा कालापानीबाट भारतीय सेना हट्नुपर्छ भनेर आवाज उठाउने काम गरेको सत्य हो ।

अहिले नेकपाको सचिवालयको बैठकमा प्रधानमन्त्री र पार्टीको अध्यक्ष दुवै पदबाट ओलीको राजिनामाको लागि आवाज उठेको छ । तर त्यो त्यस प्रकारको विरोध ओलीले भनेझै भारतको ओलीलाई हटाउन षडयन्त्रकै अङ्ग हो भनेर पुरै निष्कर्ष निकाल्नु त्यति तर्कसंगत देखिदैन।वास्तवमा पूर्व एमाले र माओवादी केन्द्र मिलेर वर्तमान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएदेखि नै त्यो सित सम्बन्धित एक वा अर्र्को प्रकारले लगातार अन्तर्विरोध चल्दै आएको जगजाहेर छ ।

 

त्यसका लागि ओलीको गलत प्रकारको कार्यशैली, मुख्यतः उनको व्यक्तिवादी र स्वेच्छाचारी शैली पनि काफी हदसम्म जिम्मेवार छ । त्यस प्रकारको कार्यशैली खालि सङ्गठनको कार्य संचालनमा मात्र होइन, सरकारको कार्य संचालनमा पनि देखा पर्ने गरेको छ । उनले कुनै पनि कार्यहरू आफ्नो सङ्गठनमा सामूहिक प्रकारले निर्णय गराएरभन्दा व्यक्तिगत प्रकारले निर्णय गर्ने गरेको देखिन्छ । कतिपय अवस्थामा आफ्नै नेतृत्वको पार्टी सङ्गठनले गरेका निर्णयहरूलाई पनि उनले उपेक्षा गरेर जाने गरेका छन । सरकारको संचालनमा पनि उनका नीति र कार्यशैली अत्यन्त गलत रूपमा देखा पर्ने गरेका छन । उदाहरणका लागि, देशमा बढदै गएको भ्रष्टाचारका काण्डहरूमा छानबिन गर्ने वा दोषीहरूलाई सजाय दिनेभन्दा उनले त्यस प्रकारका काण्डहरूको पक्षपोषण गर्ने गरेको देखिन्छ ।

 

यहाँसम्म कि सम्पूर्ण देश कोरोना भाइरसको शिकार भइरहेको अवस्थामा पनि त्यसका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीको खरिदमा भएको भ्रष्टाचारका काण्डहरूमा पनि उनले पक्षपोषण गर्नेतर्फ नै बढी जोड दिएको पाइन्छ । त्यस प्रकारको कार्य प्रणालीको कारणले देशमा र उनको सङ्गठनभित्र पनि उनको विरोध बढदै गएको छ ।

 

त्यही प्रकारको पृष्ठभूमिमा अहिलेको नक्सा प्रकारणका कार्य मात्र होइन, पहिलेदेखि नै स्थायी समितिका सदस्यहरूले ओलीको प्रधानमन्त्री पदबाट राजिनामाको माग गर्दै आएका थिए । नेतृत्वका लागि प्रतिष्पर्धा वा त्यो कारणले उनीहरूभित्र बढिरहेको गुटवन्दी पनि अहिले ओलीको प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजिनामाको मागको अर्को पूरक कारण हुन सक्दछ ।

 

ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाउने पार्टीभित्र चलेको गुटीय चलखेललाई दिल्लीको इशारामा भएको भनेर पार्टीीभत्र आफूमात्रै राष्ट्रवादी अरु सबै दलालका रुपमा प्रस्तुत मात्रै गराउने प्रयास गरेका छैनन, जनताका नजरमा आफू भारतीय अतिक्रमण विरोधी देखाउन खोजेका छन् ।

 

यसवारे उनले अपनाएको दोहोरो मापदण्डवारे घेरैलाई कमै थाहा छ कि उनका वफादार चम्चाहरुले लाजिमपाटसँग पनि जीवित सम्पर्क कायमै गरेका छन् । ओली संसदीय व्यवस्थाका भद खेलाडी हुन, उनले सरकारमा टिकीरहन जे जस्ता खालका अनेकौ नाटक गर्ने गर्दछन् । उनलाई थाहा छ, उनका पार्टीभित्रका विरोधीहरु पद र पैसाका भोका छन्, तिनलाई केही पद दिएमा वा केही लाख पैसा दिएमा सबैको मुखमा बुझो लाग्नेछ । राष्ट्रको ढुकुटी रित्याएर भएपनि उनले आफ्नो पक्षमा केही युवाहरुलाई देशका विभिन्न भागहरुका सडकमा उतारेको देखिदैछ ।

 

ओलीले अहिले अमेरिकी सहयोगमा शेरबहादुर देउवासँग मिलेर उनकै नेतृत्वमा सरकार बनाउन सकिनेवारे पनि हिसाव किताव गर्दैछन् । अमेरिकी मात्रै होइन भारत, चीनले पनि आ–आफ्नो उद्देश्य पुरा गर्नका लागि नेकपाभित्र चलिरहेको अन्तर्विरोधलाई उपयोग गर्ने प्रयत्न गरिरहेका छन् र चीनीयाँ राजदुतको सक्रियता देखिने गरी भइरहेकोछ भने अन्यको अनेकौ च्यानलहरुको उपयोग गरेर त्यो काम भइरहेका छन्।नेकपाभित्र ओलीलाई हटाउन उठिरहेको विरोधको स्वर दिल्लीको ओली विरोधी षडयन्त्रको नै एउटा अङ्ग हो भनेर उनले जसरी प्रचारगरीरहेका छन्, त्यसको पार्टीभित्र कतिसम्म गम्भीर असर पारेकोछ, त्यसको ख्याल ओलीलाई नभएको होइन ।

नेपालको राष्ट्रियताको पक्षमा ओलीले लिएका केही अडानलाई उनले अहिले राष्ट्रघातमा उपयोग गर्ने सम्भावना बलियो छ किनभने उनले अहिले नेकाँका नेता शेरबहादुर देउवासँग मिलेर अमेरिकी परियोजना एमसीसी पास गराउनका लागि बहुमत पुग्ने र त्यसैलाई भ¥यांग बनाएर बाँकी अवधिका लागि शेरबहादुर देउवाको समर्थनमा सरकार चलाउने सम्भावना हुने भएमा केपीका लागि नेकपाको एकताका लागि खासै चासो हुने छैन् । महाकाली सन्धीका लागि एमालेमा विभाजन गरेर भएपनि शेरबहादुर देउवासँग मिलेर राष्ट्रघात गरेका ओली अहिले त्यस्तै एमसीसीका लागि नेकपामा विभाजन ल्याएर भएपनि संसदवाट पास गराउने र दोस्रो ठूलो राष्ट्रघातको इतिहास दोहाराउने षडयन्त्रमा उनी लागेको देखिन्छ।