आफ्नै नाबालक भान्जाको फिरौती माग्दै हत्या गर्ने,मामा १४ वर्षपछि पक्राउ

काठमाडौं,साउन  ४ । आफ्नै नाबालक भान्जाको १४ वर्षअघि हत्या आरोपमा फरार मामा पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले आफ्नै मामालाई पक्राउ गरेको हो । 

 

प्रहरी स्रोतका अनुसार मामाले फिरौती माग्दै भान्जाको हत्या गरेका थिए । दरबारमार्ग क्षेत्रमा बालकको शव बोरामा फेला परेको थियो । सोही समयदेखि मामा फरार थिए । बालकका आमाबुबा न्युरोडमा व्यापार गर्दै आएका थिए । पक्राउ पर्नेमा ४५ वर्षीय राजेशकुमार गुप्ता रहेको प्रहरी स्रोतले जनाएको छ ।

स्रोतका अनुसार बौद्धस्थित राई स्कुलमा २ कक्षामा पढ्ने आफ्नै भान्जा रोहित गुप्तालाई उनले अपहरण गरेका थिए ।

अपरहणपछि भान्जाका बुबा अर्थात् भिनाजुसँग दुई लाख रुपैयाँभन्दा बढी फिरौती रकम माग गरेका थिए । उनले फिरौती रकम लिएपछि पनि भान्जाको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

 

हत्या आरोपमा फरार रहेका मामा लामो समयदेखि भारतमा लुकेर बस्दै आएको खुलेको थियो । उनी नेपाल आएको समयमा पक्राउ परेको बताइएको छ । महाशाखाले पत्रकार सम्मेलन नै गरेर यसबारे जानकारी दिने बताएको छ । बाह्रखरीबाट,