आपत्कालीन औषधि आयातको अनुमतिमै लाग्यो २ महीना

वीरगञ्ज,साउन २६ । औषधि व्यवस्था विभागले झन्डै २ महीना समय लगाएर कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको आपत्कालीन औषधि आयातको बाटो खोलेको छ । विभागले आयात कार्यविधि तयार पारेपछि रेम्डेसिभिर इन्जेक्शन आयात हुने भएको हो ।

 

केही आयातकर्ता गत जेठमै आयात अनुमति माग्न विभागमा पुगेका थिए । विभागले मन्त्रालयको स्वीकृति लिएर कार्यविधि तयार पार्न करीब २ महीना लगाएको छ । औषधिको आपत्कालीन आयातमा विलम्ब गरेको भन्दै चिकित्सा क्षेत्रबाट विभागको आलोचना भइरहेको छ ।

 

विभागले गत असार १० गते रेम्डेसिभिर र फाभिपिराभियरको आयात सिफारिशका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसित निर्देशन मागेको थियो । औषधि सल्लाहकार समितिको बैठक बसेका बेला अनुमोदन हुने गरी आपत्कालीन आयातका लागि अनुमति मागेको हो ।

 

मन्त्रलायले विभागलाई अनुमति दिन १ महीना लगाएको थियो । विभागले दुईओटा औषधिको सिफारिश मागेकोमा मन्त्रालयले साउन ६ गते सचिवस्तरीय निर्णयबाट रेम्डेसिभिरको आयात प्रक्रिया अघि बढाउन विभागलाई निर्देशन दिएको थियो । विभागले कार्यविधि तयार पार्न पनि करीब उत्तिनै समय लगायो । औषधि आयातको कार्यविधि आइतवार पारित भएको विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए ।

 

कार्यविधि पारित भएपछि अब आयातको बाटो खुलेको पनि केसीले बताए । ‘कोरोनाको उपचारमा प्रभावकारी मानिए पनि कोरोनाकै लागि भनेर पुष्टि भइनसकेकाले आयात कार्यविधि बनाउनु परेको हो,’ प्रवक्ता केसीले आर्थिक अभियानसँग भने ।

 

प्रभावकारी देखिए पनि अनुसन्धानमै रहेका औषधि आयातको प्रावधान नभएकाले कार्यविधि बनाएर सिफारिश दिनुपरेको विभागले बताएको छ । कार्यविधि तयार भइसकेकाले अब प्रक्रिया पुर्‍याएर आउनेलाई आयात अनुमति दिइने केसीले जानकारी दिए ।

 

नेपालमा लक्षणसहितका कोरोना संक्रमितसँगै यसबाट मृत्यु हुनेको संख्या बढ्न थालेपछि यो औषधिको आयात गर्न दिइनुपर्ने माग चिकित्सा क्षेत्रबाट चर्को रूपमा उठेको हो । यो औषधि भारत, बंगलादेश, पाकिस्तानलगायत देशमा कोरोनाको उपचारमा प्रभावकारी सावित भएको छ ।

 

विभागले आयात अनुमति नदिँदा यसको अवैध आयात भइरहेको थियो । भारतमा भारू ५ हजारमा पाइने यो औषधिको कालोबजारी भइरहेको छ । रू. ५० हजारभन्दा बढी तिरेर सिकिस्त बिरामीका लागि प्रयोग भइरहेको चिकित्सकहरूले बताएका छन् ।आर्थिक अभियानबाट,