भदौ १ गतेदेखि कम्पनी दर्ता अनलाइनबाटै गर्न मिल्ने : यसरी गर्न सकिन्छ नयाँ कम्पनी दर्ता

काठमाडौं ,साउन,२८  । अब कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनी दर्ता सम्बन्धी सबै काम घर तथा कार्यालयबाटै गर्न सकिने व्यवस्था गर्ने  भएको छ । अनलाईनमार्फत कम्पनी दर्ता गर्न सकिने व्यवस्थासहितको प्राविधिक तयारी पुरा भएको कार्यालयले जनाएको छ ।

 

अनलाईनमार्फत भदौ १ गतेबाट नयाँ कम्पनी दर्ताको लागि कम्पनीले अनलाइनमार्फत पेश गरेका कागजातलाई नै आधिकारिक मानी कार्य गरिने निर्णय गरेकाे कम्पनी रजिष्ट्रार कार्यालयले जनाएकाे छ। 

 

 नयाँ कम्पनीको प्रवन्धपत्र र नियमावलीको दुई प्रतिबाहेक अन्य कागजी विवरण कार्यालयमा पेश गर्न नपर्ने भएकाे छ । यसरी दर्ता हुने नयाँ कम्पनीको छुट्टै कागजी फायल तयार नगरिने र ती कम्पनीको पुनः काम गर्नु पर्दा अनलाईन अभिलेखलाई नै अधार मानिने कार्यालयले जनाएको छ ।यस्तै सेयर लगत अभिलेख पनि कम्पनी रजिष्ट्रारले विद्युतीय प्रति नै राख्ने जनाएकाे छ ।

 

अब पुराना कम्पनीले बुझाउनुपर्ने सबै विवरण पनि भाद्र १ गतेदेखि अनलाईनमार्फत नै बुझाउन मिल्ने गरि व्यवस्था गरिएको छ । कम्पनी रजिष्ट्रार कार्यालयमा बुझाउन नपर्ने सक्कल कागज पत्र कम्पनीले आफ्नो कार्यालयमा सुरक्षित राख्नु पर्नेछ ।