प्रचण्ड ! छातीमा हात राखेर एक पटक सोच ?

कुनै पनि राजनीतिक पार्टी फुट्नु हुँदैन । यसले फाइदाभन्दा पनि घाटा नै बढी हुन्छ । यो सबैले महसुस गरेको कुरा हो । फुट्ने पार्टीभित्र रहेका विभिन्न पक्षलाई त यसले निकै घाटा नै पुर्याउँछ । यो पार्टी फुट र जुटको प्रसंग सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को हो ।

केही दिन पहिलेसम्म प्रधानमन्त्री ओली कुनै पनि हालतमा पार्टी फुटाउने पक्षमा थिए । यस विपरीत पार्टी कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल कुनै पनि हालतमा फुट्न नदिने पक्षमा थिए । सत्तारुढ पार्टीको यो अन्तरकलह आमजनताले दुई महिना पहिलेदेखि नै सुन्दै आएका हुन् ।

 

प्रम ओली किन पार्टी फुटाउन चाहन्छन् यसको भित्री कुरा लाटाले पनि बुझिसकेको छ । उनी अमेरिकी साम्राज्यवादको निर्देशनमा चलेका छन् र सबै काम उसकै निर्देशनमा गरिरहेका छन् । हाल प्रतिपक्षी पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग मिलेर उनले यी सबै कामको चाँजोपाँजो मिलाइरहेका छन् ।

एमसीसीका पक्षधर रहेका यिनीहरु देशलाई अमेरिकी सेनाको रणमैदान बनाउन चाहन्छन् । प्रचण्ड र माधव नेपाल पक्ष त्यसको बिरुद्धमा उभिएजस्तो देखिए पनि पछिल्ला घटनाक्रमले त्यसमा केही बलिया आशङ्का जन्माएका छन् । उनीहरुले कतै ओलीको प्रस्तावमा ल्याप्चे लगाउने सर्तमा पार्टी एकताको लगन गाँठो त कसिरहेका छैनन् ?

यदि प्रचण्डले साम्राज्यवादीको ग्य्राण्ड डिजाइन अन्तर्गतको यो सर्तमा आफ्नो भविष्य देखेका छन् भने त्यो उनका लागि फगत दिवासपना मात्र हो । किनकि साम्राज्यवादीले कहिल्यै पनि स्थायी मित्र बनाउँदैन । आखिर जे खेल खेलिरहेको छ, त्यो मित्राताका लागि पनि होइन । उसले बनाउने भनेको आदेशपालकसम्म हो ।

उसको नीति भनेको ‘युज एण्ड थ्रो’ हो । यसको उदाहरण दिइराख्नु पर्दैन । विश्वमा हामीले देख्न सक्छौ नै । पहिला देशभक्त क्रान्तिकारीलाई दमन गर्न हतियार, पैसा दिने र जब देशभक्त क्रान्तिकारी समाप्त हुन्छन्, अनि तिनै शासकलाई मानवअधिकार हननको आरोपमा अन्तर्राष्ट्रिय अदालतमा उभ्याएर झुन्डाउने उनीहरुको रणनीति हो ।

साम्राज्यवाद यसमा कर्तव्यपरायण रहँदै आएको छ । इराकमा सद्दाम हुसेनदेखि काबुलमा समाजवादी रसियाविरुद्ध तोराबोरामा बंकर युद्धको नायक बनाइएका बिन लादेनसम्म उसकै उत्पादन थिए ।

आफगानिस्तानमा पहिले आततायी आक्रमण गरेर तालिबानको राज्य फ्याँकिदिएको अमेरिका आज तालिवानको खास मित्र बनिरहेको छ । नेपालमा पनि आत्मसमर्पण गर्नेहरुको कुनै खैरियत रहने छैन ।

अमेरिकी सेना नेपालमा भित्रने बित्तिकै उसको पहिलो काम यहाँ रहेका कम्युनिस्ट देशभक्तलाई समाप्त गर्नु हुने छ । दोस्रो चरणमा जुन शासकको काँधमा बन्दुक राखेर त्यहाँका जनता भुटेको छ, तिनै शासकलाई सदाम हुसेनलाई जसरी झुन्ड्याउने छ । ओली पनि सुरक्षित छैनन्, बेलैमा बुझे हुन्छ ।

विश्वका यी सबै घट्नाक्रमलाई देख्दादेख्दै पनि प्रचण्ड र माधव नेपालहरु साम्राज्यवादप्रति विश्वस्त हुन्छन् भने त भीरबाट लड्ने गोरुलाई राम राम भन्न सकिन्छ, अरु के नै पो गर्न सकिन्छ र ? अन्यथा, प्रचण्डकै पुरानो भाषामा भन्ने हो भने रक्षा त केवल प्रतिरोधबाट मात्र हुन्छ । लडाइँको मोर्चामा कतिपय कायरहरु टाउको मात्र लुकाउँछन् तर तिनैको सिङ्गो शरीरभरि गोलीको वर्षा भैरहेको हुन्छ ।

तर बहादुर कमाण्डर र उसका सिपाहीले शरीर लुकाएर टाउकोले दुश्मनको पोजिशन हेरिरहेका हुन्छन् । निस्चय नै युद्ध हेर्दा भयावह नै हुन्छ, तर बाँच्नु छ भने त्यो भयानक दृश्य हेरेर आक्रामक बन्न सक्नै पर्छ । यसरी मात्र युद्ध जितिन्छ । अब नेपालको परिदृश्य त्यस्तै किसिमको देखिन्छ।

यदि सम्झौता गरेर जोडिएर हामी चुनाव जित्छौ भन्ने लागेको छ भने प्रचण्डपंक्ति थाङ्नामा सुत्न पुगेको देखिन्छ । बाहिरी शक्तिले पनि उनीहरुलाई हराउने छन् । अनि भित्री ओलीको पङ्क्तिले पनि अन्तरघात गरेर उनीहरुलाई पत्तासाफ पारिदिने छन् ।

यो सम्झौता भनेको नदीनाला भारतलाई बुझाएकोजस्तो होइन । एमसीसी सन्धि हो । यो कार्यान्वयनमा लगिएको छ । नेपालको स्वाभिमान र नेपाली जनताले यसको प्रत्यक्ष मार बेहोरी हाल्नेछन् । त्यति बेला तपाईंहरुको स्थान कहाँ हुन्छ ?

पहिलो त यहाँ चुनाव हुनेवाला पनि देखिदैन । यदि भैहाले पनि तपाईंहरुलाई नेपालभित्र भोट माग्न जनताले प्रतिबन्ध लगाइसकेका हुनेछन् । त्यसकारण तपाईहरुसँग पश्चाताप सिबाय अरु केही उपाय बाँकी रहने छैन । उता साम्राज्यवादले न त टेक्ने ठाउँ, न त समाउने हाँगोमा तपाईंहरुलाई पुर्याएको नै हुनेछ ?

त्यसकारण यो झुठो खेलको पछाडि लाग्नु भन्दा साम्राज्यवादी सोचसँग साम, दाम, दन्ड र भेदको रणनीति अख्तियर गरेर प्रतिरोध गर्नुमा भलो रहने छ । निश्चितै रूपमा क्रान्तिकारी देशभक्तहरु कमजोरजस्तो देखिएका छन्, तर जनता साथमा छन् ।

क्षणिक पलका लागि हो साम्राज्यवादको हाउँगुजीको यो भ्रम रहने तर जब देश र जनताविरुद्ध दुश्मन आइलाग्छ, फेरि माहुरीको अरिंगालविरोधी प्रतिरोधजस्तै नेपाली जनता उठ्ने छन् । त्यसको उदाहरण खोज्न अन्यत्र कतै जानु पर्दैन । २००७ साल, २०४६ साल र २०५२ सालका युद्ध र आन्दोलनहरु हेरे पुग्छ ।

त्यसकारण ढाड देखाएर टाउको लुकाउने नीति अख्तियार गर्नु गलत छ । राष्ट्र नै नरहने गरी गरिएको सम्झौता भन्दा राष्ट्र बचाउन गरिएको बलिदान लाखौं गुणा मूल्यवान हुनेछ।