क्रान्तिकारी माओवादीद्वारा यसरी कब्जा गरियाे भूमाफियाको जग्गा (विज्ञप्तिसहित)

नवलपरासी,भदौ १८ । नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासी बर्दघाट नगर समितिले बर्दघाट–२ चिसापानीस्थित ढेडारीफाँटमा रहेको भूमाफियाको नियन्त्रणमा रहेको विवादित जग्गा कब्जा गरेको छ ।

 

विहीबार राष्ट्रिय आवास कम्पनीको नाममा रहेको ८ बिघा १२ कटठा २ धुर जग्गा सार्वजनिक जग्गाको रुपमा कायम हुनुपर्ने माग गर्दै क्रान्तिकारी माओवादीले कब्जामा लिएको हो ।

क्रान्तिकारी माओवादी बर्दघाट नगर सेक्रेटरी क्रान्तिको नेतृत्वमा गएको माओवादीका स्थानीय नेता कार्यकर्ताहरुको टोलीले जग्गामा झण्डा तथा ब्यानर गाडेर कब्जामा लिएको घोषणा गरे ।

 

त्यस्तै ग्रिनबेल्टका नाममा राखिएको सो जग्गा सार्वजनिक सम्पतिको रुपमा राखिनुपर्ने स्थानीय जनताको समेत माग रही आएको छ ।

 

माओवादी कार्यकर्ताहरुले जग्गा कब्जाको क्रममा कोणसभाको आयोजना गरी जग्गा कब्जा गरेको घोषणा गरेका थिए । कार्यक्रममा नगर सेक्रेटरी क्रान्तिले भुमाफियाले गिद्धेनजर लगाएको र संसदीय ब्यवस्थाका मतियारहरुले -याल चुहाएको जग्गालाई सार्वजनिक जग्गाको रुपमा संरक्षण र विकास गर्न जनताको साथ आवश्यक रहेको बताउनुभयो ।

 

उहाँले कुनै पनि हालतमा माफियाका गिरोहलाई जग्गा बेचेर खान नदिइने र त्यस्तो गरे जनताले कारबाही गर्ने दावी गर्नुभयो ।

 

हामी जनताको साथमा छौ, जनताको भावना बिरुद्ध जाने जो कोही भएपनि छाड्नेछैनौ– सो पार्टीका जिल्ला सचिवालय सदस्य समेत रहनुभएका उहाँले भन्नुभयो– जनताका अगाडि भुमाफियाहरु नङग्याउने बेला आएको छ । जनताले त्यस्ता गिरोहलाई कारवाही गर्नेछन् ।

कार्यक्रममा सो पार्टीका नगर सहसेक्रेटरी आकाशले सार्वजनिक जग्गा हडप्न खोज्ने गिरोहलाई पार्टीले छानी छानी कारबाही गर्ने बताउनुभयो ।

 

जग्गा कब्जा गरेलगत्तै नेकपा (क्रान्तिकारी माओवादी) बर्दघाट नगर समितिले बिज्ञप्ति समेत गरेको छ । विज्ञप्ति कब्जा जग्गा सार्वजनिक सम्पतिको रुपमा राख्नुपर्ने धारणा सार्वजनिक गरेको छ । जग्गा कब्जा गर्नु अघि सो पार्टीको नगर समितिको बैठकले उक्त जग्गा सार्वजनिक रुपमा राखिनुपर्ने माग गर्दै कब्जामा लिने निर्णय गरेको थियो ।