शंकास्पद मृत्युपछि कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता लिन कांग्रेसको माग

काठमाडौं,असोज २। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शंकास्पद मृत्यु भएका नागरिकको कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ ।

 

कांग्र्रेस प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले बिहीबार बेलुकी प्रेस विज्ञप्ति जारी गर्दै शंकास्पद मृत्यु भएका नागरिकको कोरोना परीक्षण नगर्ने निर्णय अबिलम्ब फिर्ता लिन सरकारसँग माग गर्नुभएको हो ।

 

मृत्युपछि मात्रै पिसिआर भनेर नागरिकस्तरबाट भएको आलोचना अन्त्य गर्न सरकारलाई पछिल्लो निर्णयले सघाए पनि जिम्मेवार राज्यले नागरिकको आलोचनाबाट जोगिने उपायको खोजीमा नभएर कोरोनाबाट नागरिकलाई जोगाउने रणनीतिको विकासमा आफूभित्र योग्यता र सक्षमताको खोजी गर्न आवश्यकता रहेको उहाँको भनाइ छ ।

 

‘शंकास्पद मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने सरकारको पछिल्लो निर्णय अत्यन्तै गलत छ, तत्काल फिर्ता लिएर गहिरो विश्लेषण र गम्भीर सुझबुझका साथ मात्रै यस्ता संवेदनशील विषयमा निर्णयमा पुग्न नेपाली कांग्रेस सरकार र सम्बन्धित निकायलाई आग्रह गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

 

यसअघि बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा मृत्यु भइसकेका व्यक्तिहरुको नमुना झिकेर कोरोना परीक्षण नगर्न निर्देशन दिनुभएको थियो ।

 

मृत्यु भएका व्यक्तिहरूको नमुना झिकेर कोरोना परीक्षण गरेको सूचना आएको भन्दै उहाँले आगामी दिनमा त्यसो नगर्न निर्देशन दिनुभएको हो । हिमालय टाइम्सबाट,