चिनले आफूविरुद्ध भारतलाई नउक्साउन अमेरिकालाई कडा चेतावनी

काठमाडौं। चीनले भारतलाई आफूविरुद्ध नउक्साउन अमेरिकालाई चेतावनी दिएको छ। भारत भ्रमणका क्रममा अमेरिकाका विदेशमन्त्री माइक पम्पिओले आफूविरुद्ध विभिन्न आरोप लगाएलगत्तै चीनले कडा शब्दमा विरोध जनाएको हो।

 

भारतका विदेशमन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंहसँगको बैठकपछि अमेरिकी विदेशमन्त्री पम्पिओले चीन प्रजातन्त्र, कानुनी शासन र पारदर्शिताविपरीत हिँडेको भन्दै विरोध गरेका थिए।

 

त्यसलगत्तै भारतस्थित चिनियाँ दूतावासले  विज्ञप्ति जारी गरी   जथाभावी नबोल्न चेतावनी दिएको हो। साथै चीनले आफू र भारतबीचको सीमासम्बन्धी विवाद दुई देशको मामिला रहेको भन्दै त्यसमा हस्तक्षेप नगर्न चेतावनी दिएको छ।

 

‘सीमासम्बन्धी समस्या चीन र भारतबीचको कुरा हो। जुन समाधानका लागि दुई पक्षबीच कूटनीतिक तथा सैन्य माध्यममार्फत वार्ता गरिरहेका छौं। हामीबीचका मतभेद समाधान गर्न हामीसँग विवेक र क्षमता छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसमा तेस्रो पक्षलाई हस्तक्षेपका लागि कुनै स्थान छैन।

 

विदेशमन्त्री माइकल पोम्पिओलगायत अमेरिकाका वरिष्ठ अधिकारीले झुट कुरा दोहोर्‍याइरहेको उल्लेख गर्दै चीनले आफूविरुद्ध भइरहेको प्रहार अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिका आधारभूत सिद्धान्तको उल्लंघन भएको उल्लेख गरेको छ।

 

‘यसरी यस क्षेत्रका अन्य देशलाई चीनविरुद्ध उक्साएर युद्ध निम्त्याउने मानसिकताको चीन कडा विरोध गर्छ,’ विज्ञप्तिमा भनिएको छ।

 

आफू सधैं शान्ति र विकासका पक्षमा रहेको उल्लेख गर्दै चीनको विरोध गरेर अमेरिका विश्वमा आधिपत्य स्थापित गर्ने दाउमा रहेको आरोप पनि चीनले लगाएको छ।

त्यस्तो मानसिकता त्याग्न चीनले अमेरिकालाई चेतावनी दिएको छ।