नक्कली रूपैयाँ छाप्ने प्रिन्टरसहित तीन जना पक्राउ

काठमाडौं,कार्तिक २७। नक्कली नोटका तीनजना कारोबारीलाई सिरहाको गोलबजार नगरपालिका– ६ बाट बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

 

पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–७ भेडियाका बिमलेन्द्रकुमार नायक, गोलबजार नगरपालिका –१२ बेतौनाका २५ वर्षिय धिरज राय कुर्मी र सोही ठाउँका २० वर्षिय संजय रायलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ।  

 

वीरेन्द्र महतोको गोलबजार स्थित घरमा दुई वटा कोठा भाडामा लिएर नक्कली नोटको धन्दा संचालन भैरहेको सूचना प्राप्त भएपछि संयुक्त सुरक्षाकर्मीकाे टोली नेपाल प्रहरी र सशस्त्र प्रहरीले छापा मारेर नक्कली नोट, नोट छाप्ने प्रीन्टरसहित तीनैजनालाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ। 

 

उनीहरु कात्तिक २१ गतेदेखि नक्कली नोटको धन्दा संचालन गरेको सूचना पछ्याउँदै यकीन भएपछि बिहीबार छापा मारेर महतोको घरबाट एक हजार दरका ६ लाख ८८ हजार नक्कली नोट, ल्यापटप एक थान, प्रीन्टर एक थानसहितका सामग्रीसहित तीनै जनालाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय मिर्चैयाको हिरासतमा राखेर थप अनुन्धान भैरहेको प्रहरीले जनाएकाे छ।