काठमाडौं उपत्यकामा आजदेखि मेलम्चीको पानी वितरण

काठमाडौं,चैत १५। काठमाडौं उपत्यकामा आजदेखि मेलम्चीको खानेपानी आउँदै छ । सरकारले आज बिहान ८ देखि १० बजेसम्म काठमाडौंका चार स्थानबाट मेलम्चीको खानेपानीे वितरण गर्न लागेको हो ।

 

वि.सं. २०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी उपत्यकामा ल्याउने प्रतिबद्धता व्यक्त गरेको ३ दशकपछि काठमाडौं उपत्यकावासीले मेलम्चीको खानेपानी प्रयोग गर्न पाउने भएका छन् ।

 

पटकपटक समय सीमा सारिंदै आएको र उपत्यकावासीको सपना जस्तै बनेको मेलम्चीको खानेपानी आज पहिलो दिन काठमाडौंका चार स्थान खुमलटार, अनामनगर, मीनभवन र महाँकालबाट वितरण सुरु गर्न लागिएको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमलराज श्रेष्ठले जानकारी दिए ।

 

एक हप्तामै दैनिक साढे ८ करोड लिटर पानी वितरण हुने भनिए पनि पाइपमा हुने ओभर लोडलाई ध्यानमा राख्दै आज करीब ४ करोड लिटर पानी वितरण गर्ने तयारी गरिएको छ ।

 

काठमाडौंका यी स्थानमा पानी वितरण गर्न सुन्दरीजलबाट दैनिक करीब ४ करोड लिटर पानी आउने भन्दै श्रेष्ठले २ दिनपछि अर्थात् मंगलवारबाट साढे ६ करोड र त्यसको २ दिनपछि अर्थात् बिहीवारबाट भने दैनिक साढे ८ करोड लिटर पानी वितरण हुने बताए ।

 

काठमाडौं उपत्यकामा दैनिक १७ हजार लिटर पानी ल्याउने गरी सुन्दरीजलमा साढे ८ करोड लिटरका २ ओटा ट्रिटमेन्ट प्लान्ट तयार छन् । एउटा प्लान्टको परीक्षण हुन बाँकी रहेकाले हाल साढे ८ करोड लिटर पानी मात्र ल्याउन लागिएको हो।

 

आजबाट वितरण गरिने पाइपलाइनमा एकैपटक लोड पर्दा हुने सम्भावित समस्यालाई मध्यनजर गर्दै थोरै थोरै पानी ल्याएर हप्ताभित्र पूरा साढे ८ करोड लिटर पानी वितरण गर्न लागिएको श्रेष्ठको भनाइ छ । त्यसपछि यी चार स्थानबाहेक अन्य स्थानमा पनि पानी वितरणको प्रक्रिया अघि बढाउने तयारी छ ।

 

काठमाडौंको कीर्तिपुर र भक्तपुरको पानीट्यांकीको काम केही बाँकी रहेकाले दोस्रो चरणमा मात्रै यी स्थानमा पानी वितरण गरिनेछ । श्रेष्ठका अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले हाल वितरण गर्दै आएको प्रणाली र आयोजनाले नयाँ थपेको पाइपलाइनमार्फत पानीको वितरण हुनेछ ।

 

‘अहिले परीक्षणकै क्रममा रहेकाले अबको २ हप्तासम्म दैनिक एकैपटक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा आउँदैन,’ श्रेष्ठले भने, ‘परीक्षण सफल भएपछि दुवै प्लान्ट सञ्चालन गरी दैनिक उक्त परिमाणमा पानी आउनेछ ।

 

त्यसैगरी आयोजनाले पहिलो चरणमा १ लाख १० हजार घरधुरीमा नयाँ वितरण प्रणाली जोड्ने तयारी गरे पनि ८२ हजार घरधुरीभित्रको कम्पाउन्डभित्र मात्रै पाइपलाइन पुगेको छ ।

 

आयोजनाले बनाएको नयाँ पाइपलाइनसँग जोडिने घरधुरी चक्रपथभित्रका मात्रै हुन् । चक्रपथभित्र पनि बालुवाटार, विशालनगर क्षेत्र, धोबीखोलाबाट पश्चिमको क्षेत्र, बालाजु बसपार्क क्षेत्र, छाउनी, बाफल क्षेत्रमा पनि नयाँ प्रणाली जडान भएको छैन ।

 

आयोजनाले केही समयपछि काठमाडौंको भृकुटीमण्डपबाट वितरण लाइनको उद्घाटन राष्ट्रपतिमार्फत गराउने तयारी गरेको छ ।

 

अहिले काठमाडौंमा मेलम्चीको पानी केयूकेएलको पुरानै पाइपलाइनबाट वितरण हुने भए पनि आयोजनाले अधिक समस्या देखिएका स्थानमा १ हजार किलोमीटरभन्दा बढी नयाँ पाइपलाइन बिच्छ्याएको छ । साढे २ तलाको घरको ट्यांकीमा पनि पानी स्वतः चढ्नेछ ।

 

मेलम्चीको पानी ल्याउन सरकारले २०६६ सालबाट मात्रै सुरुङमार्ग बनाउन शुरू गरेको थियो । त्यसको ११ वर्षमा अर्थात् गत असारमा २६ किलोमीटर लामो सुरुङमार्ग निर्माण सम्पन्न भई पानी परीक्षणसमेत गरिएको थियो ।

 

तर, असार २१ गते सुरुङमार्गमा पानी परीक्षणका लागि पथान्तरण गरिएको र त्यसको ९ दिनमै मुख्य मुहान रहेको अम्बाथानको १७ नम्बर गेटको नटबोल्ट फुस्किएपछि मानवीय क्षतिसमेत भएको थियो । त्यसपछि उक्त क्षतिग्रस्त गेट बनाउने भन्दै सुरुङमार्गमा भएका गेटहरूको काम पुनः शुरू गरिएको थियो ।

 

सुरुङमार्गको सफल परीक्षणपछि फागुन १० गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट स्वीच थिचेर मेलम्चीको पानी सुन्दरीजलमा ल्याउने कार्य शुभारम्भ भएको थियो ।