ओली सरकार केही दिनमै विस्थापित हुने प्रचण्डको दाबी,भनेजस्तो नभए विद्रोहको लागि तयार रहन कार्यकर्तालाई निर्देशन

काठमाडौं,चैत २८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहीदिनभित्रै नयाँ सरकार गठन हुने दाबी गरेका छन्। 

 

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग चलिरहेको छलफल सकारात्मक भएको भन्दै केही दिनमै अहिलेको सरकार विस्थापित हुने दाबी गरेका छन्।

 

अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा कांग्रेस, जसपा लगायतका दलसँग मोर्चाबन्दी गरेर अघि बढ्ने पनि प्रचण्डले घोषणा गरेका छन्। चुनावपछि केपी ओली चौथो स्थानमा पुग्ने पनि उनकाे दाबी छ ।

 

काठमाडौंमा आजै आयोजित अर्को कार्यक्रममा प्रचण्डले सरकार राज्यका सबै अंग र संयन्त्र कब्जा गर्न लागि परेको आरोप लगाएका छन् ।

 

प्रचण्डले आफुले भनेजस्तो हुन नसके नयाँ खालको विद्रोहमा जानुपर्ने अवस्था आउन सक्ने भन्दै त्यसका लागि तयार रहन पनि कार्यकर्तालाई निर्देशन दिएका छन् । तर त्यस्तो विद्रोह शान्तिपूर्ण हुने उनको भनाइ छ ।