प्रधानमन्त्री ओलीले विश्वासको मत लिन वैशाख २७ गते संसद अधिवेशन बोलाउने

काठमाडौं,बैशाख १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिनुहुने भएको छ । त्यसका लागि सरकारले वैशाख २७ गते संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ ।

 

मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने जानकारी गराउनुभएको छ । एक मन्त्रीका अनुसार वैशाख २७ गते संसद अधिवेशन बोलाउन आह्वान गर्ने र विश्वासको मत लिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।

 

अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्यूँतिएर माओवादी केन्द्रले औपचारिक रुपमा समर्थन फिर्ता नलिए पनि आफ्नो सरकारलाई समर्थन छैन भनेपछि सरकार अल्पमतमा रहेको टिप्पणी भैरहेको छ ।

 

प्रधानमन्त्रीले पटक पटक माओवादी केन्द्रलाई समर्थन फिर्ता लिन चुनौती दिएपनि माओवादी केन्द्रले समर्थन नगरेकाले फिर्ता लिनुनपर्ने तर्क गरिरहेको छन् ।

 

प्राविधिक रुपमा सरकार बहुमतमा रहे पनि प्रधानमन्त्रीले विश्वासको मत लिन लाग्नुभएको छ । प्रधानमन्त्री पदमा कायम रहन प्रधानमन्त्रीले १ सय ३८ सांसदको समर्थन लिनुपर्छ ।प्रधानमन्त्रीले आफूमाथि संसदको विश्वास छ वा छैन भन्ने यकीन गर्न जुनसुकै बेला विश्वासको मत लिन सक्छन् ।