सेवाग्राहीलाई कति स्पीडको इन्टरनेट सेवा दिएको जानकारी नदिने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने प्राधिकरणको तयारी

काठमाडौँ,बैशाख २१। नेपाल दूरसञ्चार प्राधिकरणले आफ्ना सेवाग्राहीहरुलाई कति स्पीडको इन्टरनेट सेवा दिएको छ भनेर जानकारी नदिने इन्टरनेट सेवा प्रदायकहरुलाई कारबाही गर्ने भएको छ ।

 

इन्टरनेट सेवा प्रदायकहरुले आफ्ना ग्राहकहरुलाई भनेअनुसारको इन्टरनेट स्पीड नदिएको गुनासो निरन्तर बढ्दै गएपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई कारबाही गर्ने तयारी गरेको हो ।

 

यसअघि प्राधिकरणले पटक-पटक इन्टरनेट सेवा प्रदायकहरुलाई आफ्ना ग्राहकहरुलाई दिएको इन्टरनेट सेवाको स्पीडको बारेमा पारदर्शी जानकारी दिन निर्देशन दिएको थियो भने सार्वजनिक सूचना नै प्रकाशन गरेर सचेत गराएको थियो । तर हालसम्म इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले प्राधिकरणको निर्देशनलाई अटेर गर्दै आएको देखिएको छ ।

 

कम्पनीले इन्टरनेट सेवाका ग्राहकहरुलाई एमआरटिजी अर्थात सेवाग्राहीले कति इन्टरनेट खपत गरिरहेको छ र कति स्पीडमा इन्टरनेट सेवा प्राप्त गरिरहेको छ भनेर हेर्ने माध्यम प्रदान गर्नुपर्नेमा हालसम्म केवल ४ वटा कम्पनीहरुले मात्र यस्तो व्यवस्था गरेका छन् ।

 

 

प्राधिकरणकाअनुसार हालसम्म ‘नो योर इन्टरनेट ब्याण्डविथ’ अन्तरगत सुबिसु केबलनेट प्रालि, भायनेट कम्युनिकेसन्स प्रालि, हिमालयन इन्टरनेट सर्भिसेज प्रालि र ब्रोडब्याण्ड सलुसन्स प्रालिले मात्र आफ्ना ग्राहकहरुको लागि खपत गरेको इन्टरनेट ब्याण्डविथको बारेमा जानकारी दिने पोर्टल तयार पारेर सार्वजनिक गरेका छन् ।