इटालीको कीर्तिमानी जितसँगै क्वाटरफाइनल प्रवेश

काठमाडौं। इटाली युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको दोस्रो प्रि-क्वाटरफाइनलमा अष्ट्रियालाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै इटाली अन्तिम आठमा पुगेको हो।

 

 

इंग्ल्यान्डको वेम्बली स्टेडियममा इटालीलाई जित दिलाउन परिवर्तित खेलाडीद्वय फेडरिको चिसा र माटियो पेसिनाले एक एक गोल गरे। अष्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काए।

 

 

प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो। अतिरिक्त समयमा इटालीले दुई गोल गर्यो। अष्ट्रियाले एक गोल फर्कायो।

 

 

यस जितसँगै इटालीले ३१ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ। इटालीले ८२ वर्ष अगाडिको आफ्नै कीर्तिमान भंग गरेको हो।

 

 

यससँगै इटाली क्वाटरफाइनलमा पुग्ने दोस्रो टिम बनेको छ। अष्ट्रिया भने प्रतियोगिताबाट बाहिरिएको छ। इटालीले क्वाटरफाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेतासँग खेल्नेछ।