आज राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं। राष्ट्रियसभाको आठौं अधिवेशन आजदेखि सुरु हुँदैछ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको आठौँ अधिवेशन आज अपरान्ह ४ बजेका लागि बोलाएकी हुन्।

 

 

 

मुलुकको तल्लो सदन प्रतिनिधिसभा विघटन गरिएको अवस्थामा माथिल्लो सदनको अधिवेशन औपचारिकता र बाध्यतामै सीमित हुने सम्भावना छ।

 

 

अघिल्लो पटक संसद विघटन गर्दा बेलाइएको राष्ट्रिय सभाको सातौं अधिवेशन पनि औपचारिकतामै सीमित भएको थियो।

 

 

आजबाट हुने आठौं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ। बैठकमा सहभागी हुने अध्यक्षदेखि राष्ट्रिय सभाका सदस्यलगायतको एन्टिजेन्ट परीक्षण बुधबार नै गरिएको थियो।

 

 

सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले अधिवेशनको सबै तयारी पूरा भएको र अधिवेशनमा विधेयकका साथै समितिका प्रतिवेदन तथा संवैधानिक निकायबाट आएका पत्रहरु प्रस्तुत हुने जानकारी दिए।

 

 

राष्ट्रिय सभामा हाल १९ वटा विधेयक रहेका छन्। कोरोना संक्रमणको अवस्थालाई ध्यान दिएर बैठकमा सहभागी हुने सदस्य, संसद सचिवालयका कर्मचारी, सुरक्षाकर्मी र समाचार संकलनका लागि जाने पत्रकारहरुको एन्टिजेन परिक्षण गरिएको छ।