आन्तरिक उडान आजदेखि सुरू,यी जिल्लामा हुँदैछ उडान

काठमाडौं। कोरोना भाइरस संक्रमण नियन्त्रका लागि निषेधाज्ञा जारी भएपछि बन्द भएको आन्तरिक उडान दुई महीनापछि आजदेखि सुरु हुने भएको छ।

 

 

मन्त्रिपरिषद्को निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आजदेखि आन्तरिक उडान नियमितरुपमा शुरु गर्ने निर्णय गरेको हो।

 

 

उडान नियमित गरिए पनि पूर्ण रुपमा भने सञ्चालन हुने छैन। हाललाई साविकको तुलनामा ५० प्रतिशत उडानमात्रै हुनेछ। नेपाल नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडानमात्रै गर्ने गरी तयारी गरेको छ।

 

 

प्राधिकरणले बढीमा ६७ वटासम्म उडान तालिका स्वीकृत गरेको छ। उडान बिहान साढे ६ बजेदेखि साँझ ६ बजेसम्म हुनेछन्।

 

 

प्राधिकरण उडान अनुमति शाखाका अनुसार काठमाडौंबाट बुद्ध एयरलाई दैनिक ३१, यतिलाई १५, श्री एयरलायन्सलाई १० र सौर्य एयरलायन्सलाई ३ वटा नियमित उडान गर्न अनुमति दिइएको हो।

 

 

पहिलो चरणमा यी चारवटा वायुसेवाले काठमाडौंबाट धनगढी, नेपालगन्‍ज, सुर्खेत, भैरहवा, पोखरा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, तुम्लिङटार र भद्रपुर उडान गर्नेछन्।

 

 

प्राधिकरणद्वारा स्वीकृत तालिकाअनुसार काठमाडौंबाट दैनिक विराटनगर १०, भैरहवा ९, नेपालगन्‍ज र भद्रपुर ७/७, जनकपुर र सिमरा ६/६, पोखरा ५ र धनगढी ४ वटा उडान हुनेछन्।

 

 

त्यसैगरी काठमाडौंबाट लुक्ला, फाप्लु, ताप्लेजुङ, भोजपुरलगायत दुर्गम क्षेत्रमा दैनिक ८ वटा उडान हुने प्राधिकरणले जनाएको छ। उडान गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्नेछ।