सुदूरपश्चिम प्रदेशमा ९७ प्रतिशत रोपाइँ सम्पन्न

कैलाली । सुदूरपश्चिम प्रदेशमा ९७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । यस प्रदेशमा एक लाख ८५ हजार ८ सय हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदै आएकोमा यस वर्ष एक लाख ७९ हजार सात सय हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो ।

 

यस वर्ष ९६.७० प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालय दिपायलले जनाएको छ । प्रदेशको सबै भन्दा धेरै धान खेती हुने जिल्ला कैलाली र कञ्चनपुरमा पनि समयमै रोपाइ सम्पन्न भएको छ । कैलालीमा झण्डै ७० हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ । कैलालीपछि बढी क्षेत्रफल रहेको कञ्चनपुरमा ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । दुवै जिल्लामा यस वर्ष शतप्रतिशत नै धान खेती गरिएको छ ।

 

यस्तै अन्य जिल्लाको हकमा भन्ने दार्चुलामा ९८ प्रतिशत, डडेल्धुरामा ९८,बाजुरामा ९५, अछाममा ९७ बैतडीमा ९५, बझाङमा ९९ र डोटीमा ९७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि निर्देशनालयले जनाएको छ । समयमै मनसुन वर्षा भएका कारण प्रदेशमा यस वर्ष साउन पहिलो सातामै ९६ प्रतिशत रोपाइँ सम्पन्न भएको प्रदेश कृषि निर्देशनालय दिपायलका कृषि निर्देशक वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताए ।

 

नियमित रूपमा वर्षा भएका कारण सिँचाइ हुने जमिनका साथै सिँचाइ नहुने जमिनमा समेत यो वर्ष रोपाइँ गर्न किसानलाई सहज उनले बताए । निरन्तरको वर्षा र समयमै धानको बेर्ना राख्न पाएका कारण प्रायःजसो ठाउँमा रोपाइँ सम्पन्न गरिएको छ ।प्रदेशमा धान रोपाइँ हुने कुल क्षेत्रमध्ये करिब ५३ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा पुगेको कृषि निर्देशनालयले जनाएको छ । बाँकी ४७ प्रतिशत क्षेत्रफलमा आकाशे पानीको भरमा रोपाइँ गरिने गरेको छ ।