महाकाली तर्ने क्रममा तुइनबाट खसेर एक बेपत्ता

काठमाडौँ । दार्चुलामा महाकाली तर्ने क्रममा तुइनबाट खसेर एक जना  बेपत्ता भएका छन् । व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा तुइनबाट खसेर ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् ।

 

महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बताए । “भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासि तुइन काटिदियो, नदीको बिच भागमा पुग्ने बेला तुइन काटिएपछि उनी बेपत्ता भएका हुन्, पाँच छ जना स्थानीय सामान लिन भारतको बाटो हुँदै आइरहेका थियौँ” धामीले भने, “पाँच छ जना तुइनबाट भारत तरेका थिए, जयसिंह तर्ने बेला एसएसबी पुगेर तुइन काटिदिए, भारत पांगलमा रहेका एसएसबीले तुइन काटिदिएका हुन् ।”

 

धामी बेपत्ता भएपछि अहिले स्थानीय आक्रोशित बनेका छन् । नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका बासिन्दाले सदरमुकाम खलङ्गा आउनका लागि भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ ।