अर्थमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता, थप १६ लाख डोज अनुदानको खोप चाँडै आउने

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेकी छन् । शुक्रबार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पपछिको पुनस्निर्माणमा प्राप्त भएको चिनियाँ सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि चिनिया सहयोग र सद्भाव निरन्तर रहने विश्वास व्यक्त गरे ।

 

मन्त्री शर्माले कोभिड विरुद्ध जनतालाई खोप लगाउनु सरकारको प्राथमिकताको काम भएको भन्दै चीनले १८ लाख डोज खोप अनुदानमा दिएकोमा आभार प्रकट गरे ।

 

चिनियाँ राजदूत होउ याङछीले चीनले यसअघि नै नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिईसकेको र थप १६ लाख डोज अनुदानको खोप पनि चाँडै प्राप्त गर्ने जानकारी गराइन् । भूकम्पपछिको पुननिर्माणमा पनि चीनले नेपालमा विभिन्न २५ वटा परियोजनाहरुको पुननिर्माणमा सहयोग गरेको र आधाजसो काम सकिएको उल्लेख गर्दै उनले दरबार हाइस्कुलको पुननिर्माण सकिएको, वसन्तपुरको नौ तले दरबारको काम सकिन लागेको र बाँकी रहेका अन्य परियोजनाहरुको काम पनि चाँडै सम्पन्न गरिने आश्वासन दिएकी छन् ।