सरकारले मेलम्ची क्षेत्रका बाढी पीडितलाई राहत दिने काममा तीव्रता दिन सकेन : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका बाढीपीडितलाई राहत दिने काममा तीव्रता दिन नसकेकोमा असन्तुष्टि जनाएका छन् । जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरे पनि त्यसअनुसारको काममा तीव्रता दिन नसकेको उनको भनाइ छ ।

 

उनले भने, ‘अहिले सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद संकटग्रस्त जिल्ला त घोषणा ग¥यो । तर त्यो घोषणालाई फलोअप गर्ने खालका क्रियाकलापहरू तीव्रताका साथ अगाडि बढ्यो कि बढेन रु भन्दा अझै पनि ती गतिविधिहरु त्यहीँ अनुसारको तीब्रताका साथ अगाडि बढेको छैन । त्यसकारण तपाईहरु प्रधानमन्त्रीसहित सबै नेताहरुलाई ध्यानाकर्षण गराउन आउनु परेको भन्ने मलाई लाग्दछ ।’

 

अध्यक्ष दाहालले सो क्षेत्रका बाढी पीडितलाई राहत दिलाउन आफ्नो पार्टीले सरकारलाई घचघच्याउने र उत्प्रेरित गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले आफ्नो पार्टीको तर्फबाट पनि सो क्षेत्रका बाढी पीडितलाई सकेको सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।