किन महिला कमजोर हुन्छन् !

   जनसंख्याको हिसाबले पुरूषको तुलनामा महिलाको संख्या धेरै छ । तर सामाजिक, राजनीतिक, प्रशासनिक र न्यायीक  क्षेत्रमा महिलाको संख्या पुरूषको भन्दा निकै कम देखिन्छ । तसर्थ महिला घरभित्रको काममा मात्रै  सीमित हुने चलन आज पनि कायमै छ ।

 

 

पहिलेको भन्दा धेरै महिलाहरू शिक्षित छन्। तर समाजको दृष्टिकोणमा महिला शिक्षित भए पनि उसले घरको जिम्मेवारीबाट भाग्नु हुदैन भन्ने सोच परिवर्तन भएको छैन । समाज परिर्वतनको लागि महिला र पुरूष समान रूपले जिम्मेवार हुन आवश्यक हुन्छ । 

 

 

नारी आफैँमा कमजोर कहिले पनि हुदैन केबल हुन्छ त समाजको  दृष्टिकोणले मात्र । उनीहरूसँग आफैमा निर्भर हुन सक्ने क्षमता नभएको होइन । तर उनीहरूले समाजको डरले केही गर्न नसक्ने मनसाय निर्माण गरेको भने पक्कै हो । 

 

 

उसले घर परिवारको अनुमतिबिना घरबाहिर जान पाउने अधिकार आज पनि पाउन सक्ने अवस्था छैन । यदि कुनै नारी समाजमा आफ्नो हकहितको बारेमा आवाज उठाउछ भने उसलाई साथ दिनु भन्दा पनि लात दिने मान्छेको जमात नै  देखा पर्न थाल्छ । उसको बारेमा समाजमा आलोचना गर्ने मान्छेको कमी हुदैन् । टोल-टोलमा एक आपसमा कानेखुसी कुराहरू हुन थाल्छन् । त्यसैका कारण महिला पछि परेको हुन्छ । 

 

  

घरमा बिहान उठेदेखि नै एउटा नारीले काम गरेको हुन्छ । तर उसको काम कसैले देख्दैन् । जब घर परिवारले उसलाई एकैछिन आराम गरेको देख्छन् तब उसलाई  विभिन्न आरोप  लगाउन थाली हाल्छन् । समाजमा पुरूष भन्दा  महिलालाई कसरी तल पार्ने भन्ने पक्षमा लागेका हुन्छन् ।

 

 

खासमा भन्ने हो भने, महिलाहरू आफ्नै घरपरिवारकै मान्छेबाट पिडित हुन्छन् । एउटा छोरा जन्मेको घर र छोरी जन्मिएको घर धेरै  फरक हुन्छ । यदि एउटा नारीबाट छोरा भन्दा छोरी धेरै जन्मिएको खण्डमा उसले  समाजमा  धेरै दुःख  भोक्नु पर्ने परिस्थितिको सिर्जना हुन्छ  ।  यस्ता विविध कारणले गर्दा महिलाहरू कमजोर हुने गर्छन् । 

 

 

तथापि, महिलाहरू स्वतन्त्र  रूपले नोकरी वा जागिर गर्न पनि धक मानेका हुन्छन् । केही प्रतिशत महिलाहरू मात्र उच्च पदमा पुगेको भएपनि उसले पुरूष कै अधिनमा रहेर काम गर्नु पर्ने अवस्था छ । नेपालमा राष्ट्रपति नै महिला भए पनि उनले आफू भन्दा पनि अर्काको भरमा संस्था चलाएको देखिन्छ । तर नारी पुरूष भन्दा पनि महिलाहरूबाटै बढि शोषित भएको हुन्छ । 

 

 

महिला स्वतन्त्रताको विषयमा आवाज उठेका छन् । तर त्यही अनुरूप महिलाहरूले स्वतन्त्रताको अनुभूति गरेका छैनन् । दैनिक बलात्कार, घरेलुहिंसा, हत्या जस्ता घटनाहरूले समाजलाई बाधेको छ । यस्ता घटनाहरूले महिला माथिको  दमनलाई स्पष्ट रूपले देखाउछ । हिजो पनि महिला समाजको दमनकारीको रूपमा जन्म लिएको थियो आज पनि त्यही  रूपमा जन्म लिएको छ । 

 

 

 एउटा घरमा नारी महिनावारी हुन्छ भने उसलाई घरभित्र पस्न दिनु हुदैन भन्ने नेपाली समाजको कुसंस्कार कायम छ । सृष्टि नै महिलाले धानेको  कुरा  हामी सबैलाई जानकारी नै छ । तर पनि किन महिलालाई नै अछुतको रूपमा लिने गर्छन् भन्ने कुरा कसैले पनि पत्ता लगाएको छैन । वास्तवमा नेपाली समाजमा मात्र महिला पछि परेका होइन विश्वमै पछि परेका छन् ।   

 

 

केहीदिन अगाडी अफगास्तानको राजधानी काबुलमा तालिबानहरूले कब्जा गरे सँगै त्यहाँका महिलाहरू त्रसित  बनेका छन् । उनीहरू माथि तालिबानले गर्ने दमन सायद जोसुकैलाई असह्य हुने विषय हो । पुरूषहरूले घर बाहिरको काम गर्ने र महिलाहरूले घरभित्रको काम गर्नु पर्ने उनीहरूको एउटा नीतिनै छ । 

 

 

अहिलेको आधुनिक सामाजमा महिलाहरू कामको सिलसिलामा विश्वको विभिन्न ठाउँमा पुगेका छन् । उनीहरूले आफै काम गरेर खान सक्ने कुरालाई प्रमाणित पनि गरेका छन् । तर अझै समाजको नजरमा नारीहरू काम गर्न नसक्ने कमजोर मानिसको रूपमा चित्रित छन् । 

 

 

 

नारी आफैँमा कमजोर कहिले पनि हुदैन केबल हुन्छ त समाजको  दृष्टिकोणले मात्र । त्यसैका कारण महिलाहरू पछि परेका हुन् । उनीहरूसँग आफैमा निर्भर हुन सक्ने क्षमता नभएको होइन । तर उनीहरूले समाजको डरले केही गर्न नसक्ने मनसाय निर्माण गरेको भने पक्कै हो ।