प्रचण्डले पूर्व माओवादी एकै ठाउँमा आउनुपर्छ भनेपछि बाबुरामले दिए यस्तो कडा जवाफ

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न समुहमा रहेका पूर्व माओवादीहरु एक हुनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

 

 

शुक्रबार प्रगतिवादी कवि दिलीपकुमार श्रेष्ठको ‘सपनाको पाण्डुलिपि’ गीतिसंग्रह विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनलाई भ्रष्टिकरण र बिर्सजित गर्ने षड्यन्त्र भइरहेको भन्दै अहिलेको आवश्यकता पूर्वमाओवादीहरु एक ठाउँमा उभिनुपर्ने रहेको बताए।

 

 

 

माओवादी आन्दोलनलाई बिद्रुपिकरण र बिर्सजन गर्ने षड्यन्त्रविरुद्ध सबै एकजुट हुनुपर्ने उहाँले बताउनुभयो । यसका निम्ति सबैले आ–आफ्नो ठाउँबाट आत्मसमिक्षा गर्नुपर्ने जरुरी रहेको उनले उल्लेख गरे ।

 

 

उनले भने, ‘अहिले जसरी माओवादी जनयुद्धलाई बिद्रुपीकरण गर्ने, त्यसलाई भ्रष्टिकरण गर्ने, माओवादी आन्दोलनलाई बिखण्डित र बिर्सजित गर्ने षड्यन्त्रहरु तिव्र भइराखेका छन् अहिलेपनि ।

 

 

त्यसका विरुद्ध एक हुने उपायहरुको खोजि गर्नु बुद्धिमानी हुन्छ । अहिलेको बुद्धिमानी त्यो चाहीँ हो । अहिलेको माक्र्सवाद त्यही हो ।

 

 

हामी हिजो सँगै लडाइँ लडेका र यसलाई बिद्रुपीकरण गर्ने, यसलाई भ्रष्टिकरण गर्ने, यसलाई बिखण्डित गर्ने, यसलाई बिर्सजित गर्न चाहाने प्रतिक्रियावादी षड्यन्त्रका विरुद्ध एकजुट हुने आजको आवश्यकता हो । एकताको खोजि गरौँ हामी सबैले । त्यसको खोजि आत्मसमिक्षाबाट सुरु हुन्छ ।

 

 

अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरुले आफुहरुलाई सखाप पार्ने षड्यन्त्र गरेकाले त्यसका विरुद्ध नयाँ खालको जनयुद्धको खोजी गर्नुपर्ने बताए ।

 

 

लाखौँ जनतालाई लिएर आन्दोलित भई वर्तमान निर्वाचन प्रणालीलाई परिवर्तन गर्न सकिने उनले बताए । सबै एकभए शासकिय स्वरुप फेर्न र वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचान र अधिकारलाई धेरै माथि पु¥याउन सकिने उनले उल्लेख गरे।

 

 

उनले भने, ‘अहिले नै हतियार बोक्ने र भुमिगत हुने त मैले सोचेको छैन । तर नयाँ खालको जनयुद्धको खोजि चाहीँ गर्नु छ यो प्रतिक्रियावादीले यसरी नै हेप्ने हो हामीलाई, यसरी नै घेरा हालेर सखाप पार्ने हो भने लाखौँ जनता लिएर सडकमा हामी मिलेर उत्रिने हो भने अहिले पनि यस्ता यिनीहरुको दलाल पुँजिपतिका निर्वाचन प्रणालीहरुलाई ध्वस्त पारिदिन सकिन्छ ।

 

 

यिनीहरुले बनाएको शासकिय स्वरुप फेरिदिन सकिन्छ हामी । हामीले हाम्रो वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचान र अधिकारलाई धेरै माथि पु¥याउन सकिन्छ ।

 

 

हामीले गर्न सकिने धेरै छ, किनकी दुईपटक प्रतिनिधि सभा विघटन गरेर देशी विदेशी सबै मिलेर प्रतिक्रियावादी मिलेर हामीलाई सखाप पार्न खोज्दा हामी जनताको साथमा बसेर लाखौ जनतालाई लिएर तिनीहरुलाई परास्त गर्न हामी सफल भएका छौँ ।

 

 

हामी अहिले हिजोका जनयुद्धका सहयात्रीहरु सबैले आ–आफ्नो आत्मसमिक्षा इमान्दारीता साथ, माक्र्सवादी स्प्रिटको साथ गर्न तयार हुने हो र समाजवादप्रति इमान्दार भएर कार्यक्रम बनाएर अगाडी लाग्ने हो भने हामी अझै पनि यो देशको मुख्य शक्तिको रुपमा, निर्णायक शक्तिको रुपमा अगाडी बढ्ने सम्भावना छ । हामी सबै आत्मसमिक्षाको लागि तयार हौँ।

 

 

कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पूर्वमाओवादीहरु एकै ठाउँमा आउनेकुरा भावनात्मक कुरा मात्रै भएको टिप्पणी गरे।

 

 

उनले पूर्वमाओवादी एकठाउँमा आउने भन्दापनि नयाँ विचार र संगठनको आवश्यकता रहेको औँल्याए।

 

पूर्व माओवादीहरु एकै ठाउँमा नभई नयाँ ठाउँमा आवद्ध हुनुपर्ने उनको भनाई छ । उनले भने, ‘भावनाको हदसम्म साथीहरुले भनेको कुरा सहि छ । तर त्यो भावनाले ज्ञान र विज्ञानमा पनि त परिणत गर्नुप¥यो । विवेकसँग ज्ञानमा पनि बदल्नुप¥यो ।

 

 

त्यो भनेको नयाँ विचार हो । नयाँ विचार सँगसँगै पार्टीको पनि नयाँ संगठन, नयाँ ढाँचा हो । त्यसैले त्यसमा पहिले बहस छलफल गरौँ । अनि त्यसको आधारमा हामी मात्रै भएर मात्रै पनि त पुग्दैन ।

 

 

नयाँ जनसंख्या आयो, तिनलाई समेट्नु परेन ? हामीले हिजोका मात्रै गला मिलाएर बस्छौ भनेर हुन्छ ? सही विचार, नीति, कार्यक्रम र योजनाको आधारमा फेरी नयाँ ढंगले चाहीँ हामी अगाडी बढौँ ।

 

 

सबै पूर्वमाओवादी एकै ठाउँ आँउ भन्ने होईन, सबै पूर्वमाओवादीहरु नयाँ ठाउँमा जाँऊ भन्नुप¥यो क्या । नयाँ ठाउँमा गएपछि त्यसले चाहीँ यो देशको मात्रै होईन विश्व मानव जातिकै निम्ति योगदान गर्न सक्छ ।

 

 

अध्यक्ष भट्टराईले केपी ओलीले गरेको प्रतिगमन परास्त भएपनि प्रतिगमनको नयाँ संस्करण आउनसक्ने बताए। अर्लि इलेक्शनको नाममा पुनः कांग्रेस र एमालेलाई अगाडी ल्याउने र माओवादीलगायतका मधेश जनजाति आन्दोलनबाट आएको उपलब्धीलाई उल्ट्याउने प्रयत्न भइरहेको उनले बताए । उनले भने, ‘प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु । दोस्रो संस्करण नयाँ ढंगले आउँदैछ ।

 

 

अर्लि इलेक्शनको नाममा फेरी उही पुरानै कांग्रेस र ओलीको एमालेलाई अगाडी ल्याउने र बाँकी माओवादी, मधेश आन्दोलन, जनजाति आन्दोलन लगायतको जुन पछिल्ला आन्दोलनको जगमा यो संविधान बन्यो त्यसलाई संवैधानिक ढंगले संसद भित्रैबाट त्यसलाई उल्ट्याइदिने प्रयत्न फेरीपनि दोस्रो संस्करणको रुपमा आउँदैछ ।

 

 

 

अग्रगामी शक्तिहरु प्रतिगमनका विरुद्ध एक हुने, सहकार्य गर्ने, आवश्यक परे चुनावी तालमेल पनि गर्ने र भोली गएर बहस, छलफल गरेर फेरी एकै ठाउँमा आउने यो सम्भव छ ।

 

 

अध्यक्ष भट्टराईले अग्रगामी शक्तिहरु प्रतिगमनको विरुद्ध एक हुनुपर्ने र आवश्यकता अनुसार चुनावी तालमेलसम्म गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए ।