दुर्घटनाका मृतकका परिवारलाई राहत र घाइतेको निःशुल्क उपचार सरकारले गर्ने

काठमाडौं। मुगु, कास्की र अछाममा भएका सवारी दुर्घटनामा मृत्यु भएकाका परिवारलाई उचित राहत र घाइतेको सरकारले निःशुल्क उपचार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।

 

 

मुगु, कास्की र अछाममा भएका दुर्घटनाले आफू स्तव्ध भएको बताउँदै प्रधानमन्त्री देउवाले सामाजिक सन्जालमा लेखेका छन्, ‘दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछु ।

 

 

दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्दार एवं निशुल्क उपचार सरकारले गर्नेछ ।

 

 

 

उनले सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन् ।

 

 

 

मंगलबार मुगुमा भएको बस दुर्घटनामा ३२ जनाको ज्यान गएको थियो । यसैगरी सोमबार कास्कीमा आठ जना र अछाममा चार जनाको मृत्यु भएको थियो ।