बाढी–पहिरो प्रभावितको सुरक्षित ठाउँमा व्यवस्थापन गर्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणको क्रममा सूदुरपश्चिम पुगेका छन् । निरीक्षणको क्रममा डोटीको दिपायल पुगेर प्रम देउवाले बाढी, पहिरो प्रभावित नागरिकलाई तत्काल उद्धार तथा सुरक्षित ठाउँमा व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

 

 

प्रभावितहरूलाई सरकारले राहत दिने तथा बाढी–पहिरोले घर भत्किएकाहरूको घर निर्माणका लागि आर्थिक सहयोग दिने प्रधानमन्त्री देउवाले बताए।

 

 

 

‘बाढी प्रभावितको स्वास्थ्योपचारदेखि आवास निर्माणमा सरकारले सहयोग गर्नेछ, विपत्तिका बेला सबैले सहयोग गर्न आवश्यक छ, तपाईँहरूले प्रभावितलाई चुस्त रूपमा सेवा दिनुहोला । ’सिडिओ र सुरक्षा प्रमुखलाई निर्देशन दिँदै देउवाले भने ।

 

 

 

प्रधानमन्त्री देउवाको नेतृत्वमा आएको टोलीमा अर्थ मन्त्री जनार्दन शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले लगायत पुगेका छन्। प्रधानमन्त्रीसहितको यो टोली बाढी प्रभावित सुदूरपश्चिमका नौ वटै जिल्लाको निरीक्षणका लागि जाने क्रममा दिपायलदेखि निरीक्षण सुरु गरेका छन् ।

 

 

डोटीमा मात्रै बाढी–पहिरोका कारण अहिलेसम्म १४ जनाको ज्यान गएको र एक जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिए।

 

 

प्रजिअ विष्टले डोटीमा बाढी–पहिरोमा परि अन्य १३ जना घाइते भएको बताए। बाढीको क्षतिबारे दिपायलमा जानकारी लिएर प्रधानमन्त्रीसहितको टोली आजै बझाङ चैनपुर जाने कार्यक्रम तय भएको छ ।

 

 

 

यसैगरी यो टोली बैतडी र डोटीको सीमा क्षेत्र ढुङ्गाड जाने कार्यक्रम रहेको र ढुङ्गाडमा भएको क्षतिका विषयमा स्थलगत निरीक्षण गरी डडेल्धुरा सदरमुकाम पुग्ने बताइएको छ ।

 

 

 

साथै यो टोली जोगबुढाबाट कञ्चनपुर पुगेर सदरमुकामका साथै त्यहाँका बाढी प्रभावित क्षेत्र दोधारा–चाँदनी, ब्रह्मदेव क्षेत्रमा बाढीको क्षतिका बारेमा निरीक्षण गरी कैलालीको धनगढी फर्किने कार्यक्रम तय भएको छ ।