प्रधानन्यायाधिशले तोके संवैधानिकसहित ११ इजलास

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले आज बुधबार ११ इजलास तोकेका छन् । जबराले आफ्नै नेतृत्वमा संवैधानिक इजलास पनि तोकेका छन् ।

 

 

जसमा वरिष्ठताका आधारमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ रहेका छन् । संवैधाानिक इजलासमा एउटा मात्रै मुद्दा पेसीमा राखिएको छ ।

 

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध गणेश हमालसमेतले दायर गरेको रिट निवेदन संवैधानिक इजलासको पेसीमा छ ।

 

 

सर्वोच्च अदालतमा तीन दिनयता न्यायाधीशहरू इजलासमा गएका छैनन् । प्रधानन्यायाधीश जबराको नेतृत्व क्षमतामाथि प्रश्न उठाउँदै सोमबार र मंगलबार न्यायाधीशहरू इजलासमा नै गएनन् । बरु उनीहरूले प्रधानन्यायाधीशलाई भेटेर मार्ग प्रसस्त गर्न सुझाव दिएका थिए ।

 

 

 

अर्कोतिर कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले जबरा प्रधानन्यायाधीश रहेसम्म मुद्दामा बहस नगर्ने निर्णय गरेका छन्।

 

 

 

मन्त्रिपरिषद्‍मा भाग खोजेको, संवैधानिक परिषद्मा भएका नियुक्तिमा भाग खोजेको, आफूविरुद्धको मुद्दाको सुनुवाइ गर्ने इजलासको नेतृत्व आफैले गर्न खोजेको, न्यायालयको स्वच्छता कायम गर्न नसकेकोलगायतका आरोप लगाएर न्यायाधीश र कानुन व्यवसायीले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन भनिरहेका छन् । तर प्रधानन्यायाधीश भने आफूले राजीनामा नदिने अडान लिँदै आएका छन् ।