परीक्षामा सहयोग गर्छु भन्दै यौन शोषण गर्ने शिक्षक पक्राउ

काठमाडौं। छात्रालाई यौन शोषण गरेको आरोपमा झापाका एक निजी विद्यालयका शिक्षक पक्राउ परेका छन्।

 

 

इलाका प्रहरी कार्यालय अनारमनीले अर्जुनधारा-६ का जितेन बस्नेतलाई बुधबार साँझ पक्राउ गरेको डिएसपी सन्तोष आचार्यले जानकारी दिए। ‘उजुरीका आधारमा पक्राउ गरिएको छ। थप अनुसन्धान सुरू गरेका छौं,’ डिएसपी आचार्यले भने।

 

 

विर्तामोडस्थित न्यूटन एकाडेमीमा अध्ययनरत् छात्रालाई बस्नेतले केहि समयदेखी फकाइफुल्याई यौन शोषण गरेको आरोप लागेको छ।

 

परीक्षामा सहयोग गर्ने भन्दै शिक्षक बस्नेतले विर्तामोडका विभिन्न होटलमा खाजा खान बोलाएर यौन शोषण गरेको खुलेको प्रहरीले बताएको छ।

 

 

होटलमा खाजा खान बोलाउने र होटल भिडभाड छ भन्दै कोठामा लगेर यौन शोषण गर्ने गरेको पीडितको भनाइ छ। १५ वर्षीया बालिकालाई फेसबुकमा समेत अश्लिल म्यासेज गरेको परिवारले थाहा पाएपछि घटना बाहिर आएको हो।

 

 

बस्नेत असोज महिनादेखि न्यूटनमा कार्यरत् नरहेको प्रिन्सिपल देवेन्द्र हुमागाईंले जानकारी दिए। अध्ययनका लागि भारत जाने भनेपछि विद्यालयले बिदा दिएको हुमागाईंको भनाइ छ।

 

 

न्यूटनमा बस्नेत गणित शिक्षकका रुपमा कार्यरत् थिए। उनी कार्यरत् रहँदै विद्यार्थीमाथि यौन शोषण गरेको आरोप छ।

 

 

पीडित बालिकाको बुधबार नै स्वास्थ्य परीक्षण गरिएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ।