माओवादीले पहिचानको मुद्दा नछाडेको प्रचण्डको दाबी

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले पहिचानको मुद्दा नछाडेको दाबी गरेका छन्। नेपाल संवत् ११४२ का अवसरमा आज नेवाः मुक्ति मोर्चाले ललितपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले संविधानसभामा पहिचानको सम्बन्धमा १२ बुँदे भिन्न मत राखिएको बताए।

‘पहिचानको मुद्दा हामीले छाडेको होइन, संविधानमा पहिचानको मुद्दा सम्बोधन नभएकामा हाम्रो विरोध स्थापित गरेका छौँ’, उनले भने। मुलुक र जनतालाई अधिकारसम्पन्न बनाएको देशीविदेशी प्रतिक्रियावादीलाई पटक्कै मन नपरेको उल्लेख गर्दै उनले उनीहरु अहिले माओवादीलाई कमजोर बनाउन लागि परेको बताए।

‘माओवादी कमजोर हुँदा प्रतिक्रियावादीले कसरी टाउको उठाउँदा रहेछन् भन्ने देखियो, परिवर्तन उल्ट्याउन र प्रतिक्रान्ति गर्न खोज्दा रहेछन्। त्यो देखेर हामी झस्क्यौँ र सडकमा पनि गयौँ, जनताको बलमा प्रतिगामी कदमलाई परास्त गर्‍यौँ’, उनले भने।