वैदेशिक रोजगारीका नाममा ठगी गर्ने व्यवसायीलाई पानीमुनि गएपनि नछोड्ने: मन्त्री श्रेष्ठ

काठमाडौं।  वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई पानीमुनि गएपनि नछोड्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले चेतावनी दिएका छन् ।

 

 

 

एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालको नेतृत्वमा ज्ञापनपत्र बुझाउन मन्त्रालय गएका व्यवसायीहरुलाई मन्त्री श्रेष्ठले वैदेशिक रोगजारको क्षेत्र मर्यादित, सुरक्षित, व्यवस्थित र बेथिति नियन्त्रण गर्न व्यवसायी उतिकै जिम्मेवार हुनुपर्ने बताएका छन्।

 

 

 

गलत काममा संलग्न जोसुकै माथि राज्यले कानुन अनुसार कारवाहीको प्रक्रिया अघि बढाउने बताउदै वैदेशिक रोगजारसम्बन्धी बेथितिको अनुसन्धान र कारबाही गर्ने छुट्टै प्रणाली स्थापना गर्ने तयारी गरिएको र व्यवसायीहरुका जायज सुझावहरुलाई सरकारले ग्रहण गर्ने मन्त्री श्रेष्ठले बताए ।  

 

 

 

 वैदेशिक रोगजारको क्षेत्रमा रहेका बेथिति रोक्ने, नयाँ प्रणाली स्थापित गर्ने, सुरक्षित र व्यवस्थित बनाउने आफ्नो योजनामा सहयोग गर्न व्यवसायीहरुलाई मन्त्री श्रेष्ठले आग्रह गरेका छन्।  

 

 

 

वैदेशिक रोजगारीमा देखिएका विकृतिलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्नेबारे मन्‍त्रालयले गठन गरेको कार्यदलले अध्ययन गरिरहेको मन्त्री श्रेष्ठले बताए। वैदेशिक रोजगार व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा देखिएको भन्दै मर्जमा जान पनि मन्त्री श्रेष्ठले सुझाव दिएका छन्।

 

 

 

त्यस्तै सरकारले ताेकेकाे मापदण्ड अनुसार व्यवसायीहरूले राेजगारीमा जानेहरूसँग बढी पैसा असुली भएकाे गुनासाहरू आए मन्त्रालयले जाेसुकै भए पनि कारबाही गर्ने मन्त्री श्रेष्ठले चेतावनी दिए। 

 

 

केही मेनपावर व्यवसायीले पैसा असुली रहेकाे गुनासाहरू मन्त्रालयमा आउने गरेका छन्, अब हमी त्यस्ता व्यवसायीहरूलाइ बाेलाएर पहिले के हाे बुझ्छाै र सत्य रहेछ भने कारबाहीकाे प्रकृयामा अगाडी बढ्छाैं मन्त्री श्रेष्ठले भनेका छन् ।

 

 

 

त्यस्तै मन्त्रालयका सचिव एकनारायण अर्यालले सरोकारवला सवै पक्षको संयुक्त पहलबाट वैदेशिक रोजगारीका चुनौतिहरु समाधान गर्न सकिने बताएका छन्। 

 

 

 

वैदेशिक रोजगारीका क्रममा हुने विकृति, विसंगति र गैरकानुनी कामहरुलाई नियन्त्रण गर्न वैदेशिक रोजगार प्रहरी बनाउने योजना अघि बढाइएको सचिव अर्यालले बताएका छन्। वैदेशिक रोजगारीमा जाने युवाहरुका लागि ठगि रहित रोजगारी प्रत्याभूत गर्न मन्त्रालय क्रियाशील रहेको सचिव अर्यालले बताएका छन्।