लेटाङ तनाव: घाइते प्रहरी जवान श्रेष्ठको मृत्यु

विराटनगर । यौन दुर्व्यवहारका आरोपीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गर्दा एक जना प्रहरी जवानको मृत्यु भएको छ ।

 

 

मोरङको लेटाङमा आइतबार साँझ स्थानीयबासी र प्रहरीबीच झडप हुँदा एक महिला प्रहरीको मृत्यु भएको हो ।

 

 

 

कोशी अञ्चल अस्पतालले महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको घोषणा गरेको १ नं.प्रदेश प्रहरी कार्यालय, बिराटनगरका एसपी नविन राईले अनलाइनखबरलाई बताए ।

 

 

यौन दुर्व्यवहार आरोपी लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई पक्राउ गर्न पुगेको प्रहरी टोली र स्थानीयबीच आइतबार दिनभर झडप भएको थियो ।

 

 

 

त्यसक्रममा नेपाल प्रहरीको प्रदेश प्रहरी गणमा कार्यरत महिला प्रहरी जवान श्रेष्ठ गम्भीर घाइते भएकी थिइन् । उनको घाँटीमा गम्भीर चोट लागेको थियो ।

 

 

 

पौडेलमाथि गत शुक्रबार छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप छ । आरोपी शिक्षकलाई पक्राउ गर्न प्रहरी पुगेपछि आक्रोशित भिडले आक्रमण गरेको थियो ।

 

 

 

आइतबार करिब साढे ७ बजे अवस्था सामान्य बनेपछि प्रहरीले शिक्षकलाई स्कुलबाट निकालेको थियो । प्रहरी कार्यालय ल्याउने क्रममा आक्रोशित भिडले प्रहरीमाथि आक्रमण गरेको थियो ।

 

 

 

घटना सार्वजनिक भएपछि शिक्षक विद्यालयमै रहेको सूचना पाएका स्थानीयले स्कुल घेराउ गरेका थिए ।

 

 

आक्रोशित भीडले आरोपी शिक्षकलाई विद्यालय बाहिर निकालेर कुटपिट गर्न खोजेपछि अवस्था नियन्त्रण बाहिर गएको स्थानीयले बताएका छन् ।