चिनियाँ विदेशमन्त्री वाङ काठमाडौंमा

काठमाडौं । भ्रमणको सिलसिलामा भारतमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगेका छन् ।सोमबार पाकिस्तान पुगेका वाङ अफगानिस्तान, भारत हुँदै शुक्रबार दिँउसो काठमाडौं आइपुगेका हुन्।

 

 

२५ सदस्यीय भ्रमण टोलीसहित काठमाडौं उत्रिएका वाङ विमानस्थलबाट द्वारिका होटेल जानेछन् । वाङले औपचारिक भेटघाट भने भोलि शनिबार बिहानदेखि मात्रै गर्ने छन्।

 

 

 

शनिबार विहान नेपालका समकक्षी डा.नारायण खड्कासँग उनले भेटघाट गर्ने छन् भने त्यसअघि उनी बिहान साढे ६ बजे नै शिवपुरीमा हाइकिङ जाने छन् ।

 

 

 

शनिबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्ने तय भएको छ ।

 

 

 

वाङले आइतबार नै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि साँझ चीन फर्किने कार्यक्रम तय भएको छ ।

 

 

 

नेपालस्थित चिनियाँ दूतावास स्रोतकाअनुसार विदेशमन्त्री वाङले आज साँझ दूतावासका अधिकारीहरुसँग नेपालको पछिल्लो परिस्थितिबारे जानकारी लिनेछन् ।