मतदाता नामावली दर्ता गर्नै सास्ती, किन व्यवस्थित भएन ?

काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै असार १ गतेदेखि निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली संकलन सुरु गरेको छ । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनअघि मतदाता नामावलीमा नाम छुटेका र नयाँ मतदाताहरुका लागि आयोगले नामावली संकलन सुरु गरेको हो । मतदाता नामावलीमा नाम दर्ता गराउन सर्वसाधरण घन्टौ लाइनमा बस्न वाध्य छन । सरकारी सेवा, छिटो छरितो र व्यवस्थित बनाउने भनिएपनि नामावली संकलन व्यवस्थित हुन सकेको छैन ।

जिल्ला निर्वाचन कार्यालय काठमाडौं परिसरमा शुक्रबार देखिएको दृश्य हो यो । जिल्ला निर्वाचन कार्यालय काठमाडौं बाहिर सेवाग्राहीहरु यसरी टन्टलापुर घाममा मतदाता नामावलीका लागि लाइन लागिरहेका छन् । सरकारी कार्यालयहरुमा सेवा लिन सेवाग्राहीहरुले सास्ती भोग्दै आएको यो पहिलो घट्ना भने होइन । यसअघि पनि मतदाता नामावली दर्ताका क्रममा देशभरका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरुमा सेवाग्राहीहरुले सास्ती भोग्दै आएका छन् ।

 

सरकारी सेवालाइ व्यवस्थित गर्न भन्दै विभिन्न कार्यक्रम ल्याइने गरेपनि सरकारी काम भने कहिल्यै व्यवस्थित हुन सकेको छैन । जसका कारण सर्वसाधारणले सास्ती खेप्दै आएका छन । निर्वाचन आयोगले आगामी संघीय र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै असार १ गतेदेखि फोटोसहितको मतदाता नामावली संकलन सुरु गरेको छ । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा स्थानीय तहमै पुगेर नामावली संकलन गरेपनि नामावलीमा नाम छुटेको गुनासो आएपछि फेरि नामावली संकलन सुरु गरिएको आयोगले जनाएको छ । निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आयोगले १६ वर्ष उमेर पुगेका नागरिकहरुका लागि देशभर मतदाता नामावली दर्ता गरिरहेको छ ।

 

 

देशभरका सबै जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली दर्ता गर्ने व्यवस्था मिलाइएको छ । आयोगले पेसागत हिसाबले जिल्लाबाहिर रहेका नागरिकलाई आफू बसेको जिल्लाबाटै मतदाता नामावली दर्ता गर्न मिल्ने व्यवस्था मिलाएको छ । जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा हुने भीडभाड सामान्य रहेको र भीडअनुसार नै काम भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

मतदाता नामावलीमा नाम दर्ता गर्न, विवरण्मा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदान स्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउनका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ । मतदाता अधिकार सुरक्षित गर्न आयोगमा यसरी लाइनमा बस्दा सेवाग्राहीको महत्वपूर्ण समय समेत खेर गइरहेको छ । यीनिहरु आयोगले यो प्रक्रीयालाई अनलाइन प्रणालीमा रुपान्तरण गरिदिएको भए सहज हुने सेवाग्राहीहरुको भनाइ छ । मतदाता नामावली दर्तापछि कहिले पाइन्छ मतदाता नामावली ?

मतदाता नामावलीमा नाम दर्ता गर्दा होस वा अन्य कुनै सेवा लिन आम सर्वसाधरणले सरकारी सेवा व्यववस्थित हुन नसकेको गुनासो गर्ने गरेका छन । यो वा त्यो वहानामा आफुहरुले दुःख पाउने गरेको सर्वसाधारणको भनाइ छ । त्यसैले यस्ता काम गर्दा छिटो छरितो र व्यवस्थित सेवा दिने गरि काम गर्न आवश्यक छ ।