छोरीको प्रेमीलाई बन्धक बनाएर कुटपिट

काठमाडौं। दाङमा छोरीको प्रेमीलाई बन्धक बनाएर कुटपिटमा संलग्न भएकाहरुविरुद्ध प्रहरीले शरीर बन्धक बनाइ ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ।

 

 

 

यस घटनामा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। इलाका प्रहरी कार्यालय गढवाले साउन २३ गते मुद्दा दर्ता गरेर अनुसन्धान थालेको हो।

 

 

 

जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान चलिरहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रञ्जु केसीले जानकारी दिइन्।

 

 

 

‘घटना थाहा पाएलगत्तै प्रहरीले अनुसन्धान थालेको छ। संलग्न पाँच जनामध्ये दुई जना हाम्रो हिरासतमा छन्। बाँकी तीन जनाको खोजी जारी छ,’ उनले भनिन्,‘योजनावद्ध रुपमा घटना घटाएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ।

 

 

 

 

घटनाका मुख्य आरोपी पाटेश्वर यादव र उनका दाइ धिरजबहादुर यादवलाई प्रहरीले हिरासतमा राखेको छ। बाँकी तीन जना उनीहरुका छोराहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

 

 

पाटेश्वर यादव शिक्षक हुन्। जनज्योती माध्यमिक विद्यालय राजपुर–३ मा पढाउँछन्। त्यही विद्यालयमा उनकी छोरी पनि पढ्छिन्।

 

 

 

छोरीसँगै पढ्ने स्थानीय १९ वर्षीय मन्साराम यादवलाई पाटेश्वरले योजना बुनेर घरमा बन्धक बनाएर कुटपिट गरेको खुलेको हो।

 

 

 

 

मन्सारामले पाटेश्वरकी छोरीलाई मनपराएको थाहा पाएपछि पाटेश्वरले कुटपिटको योजना बनाएका थिए।

 

 

 

नाटकीय रुपमा मन्सारामलाई चोरी गर्न घरमा आएको बेलामा कुटपिट गरेको नक्कली कागजसमेत तयार पारेको प्रहरीले फेला पारेको छ।

 

 

 

कुटपिटबाट घाइते मन्सारामको अहिले नेपालगञ्जमा उपचार भइरहेको छ। रातभरी घरको कोठामा थुनेर राखेको र सो क्रममा कुटपिट गरेका थिए। त्यसपछि मन्साराम अचेत अवस्थामा फेला परेका थिए।