विदेशी हस्तक्षेप विरुद्धको विरोध सभामा सहभागी हुन क्रान्तिकारी माओवादीसहितका पाँच पार्टीको आग्रह (विज्ञप्तिसहित)

फाइल तस्वीर

काठमाडौं । विदेशी शक्तिको अवान्छित गतिविधिबाट देश जोगाउन भन्दै ५ राजनीतिक दलहरुले आन्दोलन गर्दै आएका छन् ।

 

 

उनीहरुले यही भाद्र २६ गते हुने विरोध जुलुस र सभामा सहभागी हुन देशभक्त शक्ति तथा जनतालाई आह्वान पनि गरेका छन् ।

 

 

 

यसरी संयुक्त प्रेस विज्ञप्तिमार्फत् जुलुसमा सहभागी हुन आह्वान गर्ने पार्टीहरुमा क्रान्तिकारी माओवादी, नेकपा(बहुमत), नेकपा (मसाल), नेपाल कम्युनिस्ट पार्टी र संयुक्त क्रान्तिकारी मोर्चा रहेका छन् ।

 

 

 

विज्ञप्तिमा ती पार्टीहरुले सार्वभौम भनिएको संसदलाई विदेशी स्वार्थको हित गर्ने अखडामा परिणत गर्ने र त्यसलाई लोकतन्त्रको सुन्दर अभ्यासको संज्ञा दिएर जनतालाई भुलभुलैयामा राख्दै विदेशीको खासगरी अमेरिकी साम्राज्यवाद र भारतीय प्रभुत्ववादको आशीर्वादमा शासन चलाउने दास मनोवृत्ति र दुष्प्रवृत्तिले गर्दा संसदले देशको स्वाधीनतालाई नै गम्भीर खतरामा पार्ने घातक र राष्ट्रहित विपरीतको एमसीसी सम्झौता व्यापक जनविरोधका बावजुद केही महिना पहिला नै पारित गरेको दावी गरेका छन्।

 

 

 

विज्ञप्तिमा बाह्य जनसाङ्ख्यिक अतिक्रमण बढाउने पुस्तौंपुस्तादेखि नेपालमा बसोबास गर्दै आएका बहुसङ्ख्यक नेपालीलाई अल्पमतमा पार्ने राष्ट्रघाती नागरिकता विधेयक पनि पारित गर्न यतिबेला जोडतोडले संसद लागिरहेको र देशलाई फिजीकरण र सिक्किमीकरण गर्ने बाटो खोलिरहेको गम्भीर आरोप लगाइएको छ।

 

 

 

 

विज्ञप्तिमा ‘जनता र राष्ट्रको हितलाई खुलमखुला तिलाञ्जली दिने र रक्षा गर्न नसक्ने र नेपाली जनताले परिवर्तनका लागि चलाएका बलिदानीपूर्ण सङ्घर्षहरुको उच्च जनादेशको ठाडो उल्लङ्घन गर्ने तथा अमर शहीदहरुको घोर अपमान गर्ने काम संसदले गरिरहेको भन्दै यस्तो संसदले न नेपाली जनताको हितको प्रतिनिधित्व गर्न सक्ने न राष्ट्रिय हितको संरक्षण र सम्बद्र्धन गर्नुपर्ने राष्ट्रपतिजस्तो सर्वोच्च संस्थाको मर्यादा र गरिमा नै कायम राख्न सक्दछ भन्दै राष्ट्रियता, जनतन्त्र र जनजीविकाको रक्षा र विकासका निमित्त संयुक्त सङ्घर्षमा पाँच वामशक्तिहरु पुगेको’ बताइएको छ।

 

 

 

ती पार्टीहरुले भनेका छन्,‘यस्तो गम्भीरतम स्थितिमा के तराई के पहाड के हिमाल सबै क्षेत्रका आम नेपाली जनता मजदूर, किसान, महिला, युवा, विद्यार्थी, मधेशी, जनजाति, अल्पसङ्ख्यक, सीमान्तकृत तथा लोपोन्मुख सबै तह र तप्काका जनसमुदायमा आफ्नो नागरिक स्वतन्त्रता र जनतान्त्रिक अधिकार तथा राष्ट्रिय स्वत्व, अस्तित्व, स्वाभिमान र स्वाधीनताका लागि एकजुट भएर देशको स्वाधीनता र आफ्ना अधिकारको रक्षा गर्न सङ्घर्षको मैदानमा उत्रिनु बाहेक अन्य कुनै विकल्प नरहेको गम्भीर स्थिति सिर्जना भएको औल्याउन चाहन्छौं र सङ्घर्षको मैदानमा सचेत र एकताबद्ध किसिमले खडा हुन सर्वशक्तिमान जनतामा हामी हार्दिक आह्वान गर्न चाहन्छौं।

 

 

 

 

 

उनीहरुले बाह्य शक्तिको अवाञ्छित स्वार्थको आडमा देशमा उत्पन्न गराइएको आजको यो गम्भीरतम र संवेदनशील स्थितिमा देश र जनताको हितमा आफूलाई क्रियाशील ठान्ने सबै निष्ठावान् देशभक्त, लोकतान्त्रिक, वामपन्थी, तथा कम्युनिस्ट शक्ति, समूह एवम् सत्यनिष्ठ व्यक्तिहरुलाई समेत हामी सङ्कीर्ण राजनीतिक पूर्वाग्रहलाई त्यागेर देश र जनतालाई जोगाउने र रक्षा गर्ने आन्दोलनलाई एकतावद्ध र सशक्त तुल्याउन अग्रसर हुन र पहल गर्न पनि आग्रह गरेका छन् ।