सरकार र डा.गोविन्द केसीबीच १० बुँदे सहमति हेर्नुहोस् (पत्रसहित)

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा. गोविन्द केसी र सरकारबीच १० बुँदे सहमति भएको छ । सरकारसँगको सहमतिपछि डा. गोविन्द केसीले १३औं दिनमा अनशन तोडेका छन् ।सहमतिपछि त्रिवि शिक्षण अस्पतालमा अनशनरत केसीले त्यहीं उपचाररत सरिता चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।

सहमतिपत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेश पाण्डेय र अनशनरत पक्षबाट डा.केसीले हस्ताक्षर गरेका छन् ।

सरकारी अस्पतालको स्वास्थ्य सेवा सुधार गर्न हाल कायम रहेको चिकित्सकको दरबन्दी थप गर्न सरकार तयार भएको छ ।

त्यसका लागि ५०० शय्याका अस्पतालहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम सम्पन्न गरी शीघ्र स्वीकृतिको प्रक्रियामा लैजाने सहमति भएको छ ।

त्यस्तै अन्य सरकारी अस्पतालको पनि संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम छिटो सक्ने सरकारले सहमति जनाएको छ ।

त्यस्तै सबै सरकारी अस्पतालमा आकस्मिक सेवा निस्शुल्क गर्न सरकार तयार भएको छ । डा.केसीसँग भएको सहमति सरकारले अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेश गर्नेछ । अनशन तोड्दै डा‍. केसीले सहमति सात दिनभित्र कार्यान्वयन नभए फेरि अनशन बस्ने चेतावनी दिएका छन्।

डा.केसीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्तिको विषयमा सरकारले कुनै निर्णय नगरेको भन्दै आपत्ति जनाएका छन् ।

त्यस विषयमा संघर्ष अझै जारी रहने बताएका छन् ।अनशन तोडेपछि केसी केही दिन उपचारका लागि त्रिवि शिक्षण अस्पतालमै रहनेछन्।

हेर्नुहोस् डा.केसी र सरकारबीच भएको सहमति