माध्यमिक तह ९ कक्षामा एक पटक मात्रै रजिष्ट्रेसन फारम भरे कक्षा १२ सम्म लागू हुने

काठमाडौं । माध्यमिक तहको रजिष्ट्रेसन फारम एक पटक भरेपछि हुने भएको छ । माध्यमिक तहको लागि फाराम ९ कक्षामा भरेपछि हुनेगरी काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले माध्यमिक तहमा छुट्टाछुट्टै भर्न नपर्ने कक्षा ९ मा भरेको रजिष्ट्रेसन नम्बरले कक्षा १२ सम्म लागू हुनेगरी प्राविधिक अध्ययन भइरहेको बताए । उनले भने, ‘कक्षा ९–१२ लाई माध्यामिक तह मानिए पनि फारम भने पटक–पटक भर्नुपर्ने छ ।

अब यो वर्ष कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थीहरुदेखि लागू हुनेगरी कक्षा ९ मा फारम भरे त्यही रजिष्ट्रेसन नम्बर हुने गरी होमवर्क गरिरहेका छौं।

यसभन्दा अघि कक्षा ९ र कक्षा ११ मा दोहोरो रजिष्ट्रेसन फारम भर्नुपर्ने भएकाले बोर्डले गत साता कार्यतालिका सार्वजनिक गर्दै कक्षा ११ का विद्यार्थीले कात्तिक मसान्तसम्म रजिष्ट्रेसन फारम भर्ने समयावधि तोकेको छ ।

विद्यालय कोड एउटै हुने

सामान्यतया असोज–कात्तिक महिनामा कक्षा ९ को रजिष्ट्रेसन फारम भराउने गरिए पनि यो वर्ष माध्यामिक तहलाई एक पटक मात्रै रजिष्ट्रेसन भराउने गरी कार्य उक्त कार्य सकिएपछि निर्णय सहित रजिष्ट्रेसन समयावधि तोकिने अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।

बोर्डले विद्यालयको कोड नम्बर एउटै कायम गर्ने गरी काम भइरहेको जनाएको छ। हाल शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एउटा कोड तथा कक्षा १० र १२ का परीक्षा नियन्त्रण कार्यालयले फरक कोड निर्धारण गर्दै आएका छन्।

विद्यालय कोडमा एकरुपता कायम हुँदा काम गर्न सबैलाई सहज हुने अध्यक्ष शर्माको भनाइ छ।