क्रान्तिकारी माओवादीको धारणा सार्वजनिक: निर्वाचन बहिस्कार आन्दोलन सान्दार रुपमा सफल,५० प्रतिशत भन्दा कम मतदान

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले हिजो सम्पन्न निर्वाचनका बारेमा प्रारम्भिक धारणा सार्वजनिक गरेको छ। पार्टीका प्रवक्ता प्रतीकले आज जारी गरेको प्रेस वक्तव्यमा पार्टीको नेतृत्वमा सञ्चालित संसदीय निर्वाचन बहिस्कार आन्दोलन सान्दार रुपमा सफल भएको दावी गरिएको छ।

वक्तव्यमा निर्वाचन आयोगले ६१ प्रतिशत मतदान भएको दावी गरे पनि ५० प्रतिशत भन्दा कम मतदान भएको दाबी गरिएको छ।

यस्तो छ वक्तव्यको पूर्णपाठ

हिजो ४, मंसिर २०७९ मा नेपाल सरकारले आयोजना गरेको संघीय र प्रादेशिक संसदीय निर्वाचन एकै चरणमा सकिएको छ । मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्न उमेद्वारहरुले विभिन्न प्रकारका झुठा आश्वासन राखी प्रकाशित घोषणा पत्रहरुका साथै साम, दाम, दण्ड, भेदका सबै तिकडमहरु प्रयोग गरेको पाइयो।

सरकारले देशका ३१ वटा जिल्लाका विभिन्न स्थानमा सयौं राउण्ड हवाई फायर, अश्रुग्याँस, अन्धाधुन्ध लाठीचार्जका बीचबाट निर्वाचन सफल भएको घोषणा गरेको छ।

निर्वाचनकै प्रक्रियामा प्रहरीको गोलीबाट र आपसी झडपबाट दुईजनाको मृत्यु भएको छ र सयौं घाइते भएका छन् । जनताको पक्षमा गरिएको सचेत विरोध तथा प्रतिरोध, विभिन्न पक्षबीचको आपसी झडपहरु र अन्य विभिन्न कारणले दर्जनौं केन्द्रमा मतदान स्थगित गरिएको छ । हाम्रो पार्टीले यस संसदीय निवार्चनबारे आफ्नो प्रारम्भिक धारणा सार्वजनिक गर्न यो प्रेस वक्तव्य जारी गरेको छ।

१– संसदीय पार्टीहरुमा विचार र आदर्श स्खलनका कारण संसदीय प्रतिस्पर्धाको राजनीति समाप्त भएको छ । कांग्रेसको नेतृत्वको सरकारी गठबन्धन र एमालेको नेतृत्वमा प्रतिपक्षीय अघोषित गठबन्धन गरी मुख्यतस् दुई पार्टीको अभ्यास सत्ता स्वार्थ समूहका रुपमा देखा परे । तर संसदीय पार्टीहरुको अस्तित्वको संकट प्रस्ट रुपमा चुलिएको देखियो ।

२– कथित संसदीय राजनीति देश र जनताको सार्वभौमिकता, स्वतन्त्रता र स्वाभिमानभन्दा सत्ता स्वार्थमा केन्द्रित प्रयोग भएको पाइयो ।

३– अहिलेको चुनावमा जनतामा पुराना भनिएका संसदीय पार्टीहरु, नेताहरु र समग्रमा संसदीय चुनावप्रतिको वितृष्णा र अविश्वास व्यापक बनेको पाइयो । चुनावकै बेला व्यापक मात्रामा जनता कामको खोजीमा भारत लगायत खाडी मुलुकमा जाने क्रम अझ व्यापक भएको देखियो । चुनावकै दिन ठूलो हिस्सा भोट खसाल्न गएनन्।

४– निर्वाचन आयोगले ६१ प्रतिशत मतदान भएको तथ्यांक सार्वजनिक गरेको छ । तर यसलाई विश्वास गर्न सकिने प्रष्ट आधार छैन । प्रबुद्ध तथा बौद्धिक समुदायको टिप्पणी, मिडियामा सार्वजनिक सामाचार र कतिपय दलका नेताहरुकै प्रतिक्रियालाई हेर्दा ५० प्रतिशतभन्दा कम मतदान भएको देखियो ।

५– प्रचार प्रसारका लागि उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउने भनी निर्वाचन आयोगले खर्चको सिमा तोके पनि त्यो केवल देखावटी मात्र रह्यो । वास्तवमा निर्वाचनमा सत्ता र शक्तिमा रहेकाहरुले अरबौंसम्म खर्च गरेको र चुनावमा डर, धाक, धम्की, प्रलोभन, भोज भतेर आर्थिक आर्थिक लाभद्वारा उम्मेदवारको पक्षमा मत आकर्षित गर्ने गरेको पाइयो । यो हाम्रो जस्तो चरम बेरोजगारी र आर्थिक आधार कमजोर भएको मुलुकमा उत्पीडित वर्ग र समुदायलाई राजनीतिक गतिविधिबाट विमुख बनाउने चालबाजी र षड्यन्त्रको रुपमा देखा पर्‍यो। यसबाट राजनीतिमा स्पष्टतस् दलाल, नोकरशाह र सामन्त वर्ग तथा हुने खाने नवधनाढ्य ठेकेदारहरुकै एकाधिकार कामय गर्ने प्रमाणित भयो। जसले भ्रष्टाचार, कमिसन र दलालीकरणको निरन्तरतालाई बढवा दिइरनेछ।

६– यस निर्वाचनमा ३१ बर्षयताकै मतदाताहरुको न्यूनतम सहभागिता, चरम असन्तुष्टी र विरोधका विभिन्न अभिव्यक्तिहरु, त्यसको परिणामस्वरुप जान आन्जानमा स्वतन्त्र उमेद्वारहरुप्रति केही रुझान जस्तो देखिए पनि यही संसदीय व्यवस्थाभित्र जनताले व्यक्ति वा कुनै नयाँ संसदीय पार्टीको विकल्प खोजेको नभएर समग्र व्यवस्थाकै अग्रगामी विकल्प खोजेको स्पष्ट हुन गएको छ।

७– सरकारले निर्वाचन बहिस्कारको शान्तिपूर्ण विरोधमाथि व्यापक धरपकड, निर्लज्ज दमन र गिरफ्तार गर्ने, प्रचार सामग्री खोस्ने, विभिन्न ढंगले आतंकित पार्ने काम गरेर संविधान प्रदत्त जनताको मौलिक अधिकारको धज्जी उडाउने काम गर्‍यो र आफ्नो निरंकुश फासिवादी चरित्रको भद्दा प्रदर्शन गर्‍यो । हाम्रो पार्टी लगायत बहिस्कार आन्दोलनमा रहेका अन्य पार्टीका सयौं नेता कार्यकर्तालाई पटक पटक गिरफ्तार गरियो । त्यसका बाबजुद देशव्यापी रुपमा निर्वाचन बहिस्कार आन्दोलन व्यापक र प्रभावकारी रुपमा सम्पन्न भयो।

८– निर्वाचनमा भएको एकदमै न्यून मतदानले हाम्रो पार्टीको केन्द्रीय समितिको बैठकले गरेको निर्वाचन बहिस्कार गर्ने कार्यनीति सही र वस्तुवादी भएको सान्दार रुपमा पुष्टि हुन गएको छ । साथै, यसबाट नयाँ जनवादी क्रान्तिको टड्कारो आवश्यकतालाई चरितार्थ गरेको छ।

९– अब नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्दै वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्न छरिएर रहेका सम्पूर्ण क्रान्तिकारी शक्ति तथा व्यक्तिहरु एकताबद्ध भएर क्रान्तिको प्रक्रियामा अगाडि बढ्न जरुरी भएको छ।

१०– अन्तमा, पार्टी केन्द्रीय समितिको चुनाव बहिस्कारको अभियानात्मक कार्यक्रमलाई जनस्तरसम्म विभिन्न प्रक्रियामार्फत् पुर्‍याउन दिलो ज्यानले खट्ने पार्टीका सम्पूर्ण नेता, आम कार्यकर्ता र हाम्रो पार्टीको बहिस्कारको आव्हानलाई सहयोग, समर्थन र सहभागिता जनाउनु हुने आम न्यायप्रेमी जनसमुदायहरुलाई पार्टी केन्द्र हार्दिक धन्यवाद ज्ञापन गर्दछ।