खाद्यले खरिद नगर्दा सस्तोमा धान बेच्दै कृषक

काठमाडौं। सरकारले एक महिना अघि धानको न्यूनतम समर्थन मूल्य तोकेपनि हालसम्म किसानबाट धान खरिद सुरु गरेको छैन । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद नगर्दा किसान बजारमा सस्तोमा धान बेच्न बाध्य छन् ।

किसानले उत्पादन गरेको धान उचित मूल्यमा समयमै खरिद गर्न भन्दै सरकारले १६ कात्तिकको मन्त्रिपरिषद्को बैठकबाट धानको न्युनतम समर्थन मूल्य तोकेको थियो ।

मोटा धानको मूल्य प्रतिक्विन्टल २ हजार ९ सय ६७ रुपैयाँ र मध्यमको ३ हजार १ सय २८ रुपैयाँ मूल्य निर्धारण गरेपनि सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले किसानसँग धान खरिद सुरु नगर्दा सस्तो बेच्नु परेको नेपालगन्ज २२ पुरैनीका कृषक इब्राहीम खाँले बताए ।

खरिद सुरु हुन्छ की भनेर धेरै दिन कुरेपनि गहुँ खेतीका लागि मल बीउको जोहो गर्नुपर्ने भएकाले बजारमा मोटो धान प्रति कुन्टल २ हजार ४ सयमा बेच्नु परेको उनको भनाइ छ ।

उनीजस्तै जानकी गाउँपालिका ३ का कृषक शिवनारायण मौर्यले पनि हिउँदेबालीका लागि मल, बीउ, खनजोतका लागि पैसा आवश्यक परेपछि गल्ला व्यवसायी कहाँ सस्तोमा धान बेच्नु परेको बताए ।

खाद्यले किसानको धान किन्न ढिलाइ गरेर पछि व्यवसायीको धान किन्ने गरेको उनको गुनासो छ । धान खरिदमा सरकार उदासीन भएपछि यतिबेला बाँकेका अधिकांश किसानले व्यवसायीलाई सस्तो मूल्यमा धान बिक्री गरिरहेका छन् भने केही किसान कहिले खरिद सुरु होला र बेचौला भनेर पर्खेर बसेको बताउँछन् ।

यता खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगन्जले मन्त्रालयले बजेट समयमै उपलब्ध नगराउँदा धान खरिद कार्यमा ढिलाई भएको जनाएको छ ।

कम्पनीको नेपालगन्ज कार्यालयका मुख्य शाखा प्रमुख रामशरण लामिछानेले धान खरिदबारे केन्द्रको निर्णय कुरेर बसेको बताए । “केन्द्रबाट परिपत्र आउना वित्तिकै खरिद प्रकृयामा जान्छौं” उनले भने ।

खरिद प्रकृयामा ढिलाई हुँदा यस क्षेत्रका धेरै किसानले व्यवसायीसँग कम मूल्यमा धान बेची सकेका छन् । धान बेचेर आएको पैसाले वर्षभरी खर्च गरेको रकम तिर्नुका साथै हिउँदे बाली गहुँ लगाउने बेला भएकाले बीउ र मल खरिद गर्न पैसा नहुँदा बाध्य भएर व्यापारीलाई प्रतिकुन्टल ५ सय देखि ७ सय रुपैयाँसम्म कम मूल्यमा धान बिक्री गर्नुपरेको किसानको भनाइ छ। कारोबारबाट