कांग्रेसको सातै प्रदेशमा संसदीय दलको नेता छान्न निर्देशन,कुन प्रदेशमा को-को छन् त आकांक्षी (नामावलीसहित)

काठमाडौं। नेपाली कांग्रेसले सातै प्रदेशमा संसदीय दलका नेता चयनका लागि प्रक्रिया थाल्न पार्टीको प्रदेश कार्यसमितिलाई निर्देशन दिएको छ।

आइतबार सकेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सातै प्रदेशमा संसदीय दलको चुनाव सम्बन्धी प्रक्रिया प्रारम्भ गर्न निर्देशन दिएको हो।

कांग्रेस प्रवक्ता प्रकाशरण महतका अनुसार सातै प्रदेशमा भए सर्वसम्मत र नभए निर्वाचनबाट दलको नेता चयन हुने छन्। केन्द्रमा जस्तै प्रदेश कार्यसमितिले संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति बनाएर प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ।

कांग्रेसभित्र प्रदेश १ मा संसदीय दलको नेताका लागि अमृत अर्याल, भीम पराजुली, उद्धव थापा, हिमाल कार्की र केदार कार्की आकांक्षी छन्।

यस्तै मधेस प्रदेश संसदीय दलको नेतामा कृष्ण यादव, रामसरोज यादव, वीरेन्द्र सिंह र जनार्दन क्षेत्रीको आकाङ्क्षी देखिन्छ भने बागमती प्रदेशमा संसदीय दलको नेता इन्द्रबहादुर बानियाँ र बहादुरसिंह लामाबीच प्रतिस्पर्धा हुने देखिन्छ।

गण्कडी प्रदेशमा सुरेन्द्र पाण्डे र मेहन्द्रध्वज जिसी दाबेदारका रुपमा अगाडि आउँदा लुम्बिनी प्रदेशमा डिल्लीबहादुर चौधरी, राजु खनाल, अब्दुल रज्जाक वीरबहादुर राना संसदीय दलको नेताको दौडमा देखिन्छन्।

यस्तै कर्णालीमा जीवनबहादुर शाही र राजीवविक्रम शाही तथा सुदूरपश्चिम प्रदेशमा मेघराज खड्का, बहादुरसिंह थापा, शिवराज भट्ट र प्रकाश देउवा गरी ४ जना संसदीय दलको नेताका आकाङ्क्षी देखिन्छन्।

कांग्रेसबाट प्रदेश संसदीय दलको नेता बन्ने प्रदेशसभा सदस्य नै मुख्यमन्त्री हुने पार्टी विधानमा व्यवस्था छ। गठबन्धनभित्र भागबण्डा हुँदा कांग्रेसले कम्तीमा ४ प्रदेशको मुख्यमन्त्री पाउने सम्भावना देखिन्छ।

प्रदेशमा पार्टीले सरकार गठनबारे विभिन्न विकल्पबारे केन्द्रसँगको समन्वय गरी निर्णयमा पुग्न कांग्रेसले निर्देशन दिएको छ। उक्त निर्देशनसँग प्रदेश संसदीय दलको नेता र सरकार गठनबारे गठबन्धनमा ढोका खुलेको छ।