दुर्गम गाउँका पिडा: घाम नलाग्दासम्म टेलिफोन त लाग्दैन, अरू केको आश गर्नु?

सांकेतिक तस्वीर

काठमाडौं।जुम्लाको तातोपानी गाउँपालिका–४ गिडीखोला गाउँका भक्तबहादुर सार्की हातमा स्मार्ट फोन भएर पनि ढुक्कले फोन गर्न पाउदैनन् । हातमा स्मार्ट मोबाइल भएर मात्र नहुने रहेछ । गाउँमा घाम नलागेसम्म फोन पनि नलाग्ने र खबर आदानप्रदान गर्न नपाउने समस्याले स्थानीय आजित भएका छन् । गाउँमागाउँमा टेलिफोन टावर निर्माण भएका छन् । तर घाम नलागेसम्म ती टावरले काम गर्दैनन् । घाम लागेर ब्याट्री चार्ज भएपछि मात्रै गाउँमा टावरले काम गर्छ ।

बिहान र बेलुका जुम्लाका अधिकांश गाउँ सञ्चारविहीन हुन्छन् । फोन गर्न घाम कुर्नुपर्ने वर्षौंदेखिको बाध्यता अन्त्य नभएको भक्त सार्कीको गुनासो छ । तातोपानी जिल्ला सदरमुकाम र कर्णाली राजमार्गसँगै जोडिएको सुगम पालिका भए पनि नेपाल टेलिकमको सेवा गुणस्तरीय नहुँदा दुर्गम मानिएको छ । तातोपानी गाउँपालिका -४, ५, ६ वडामा पर्ने गिडीखोला, नियापानी, पर्थेनी, पाण्डेवाडा, हाँकु, गौतमवाडा, हियाखोला, एैरेनी, लाम्रा, श्रीनगर, गाउँबस्तीका नागरिकले डेढ वर्षदेखि यो समस्या भोग्दै आएका छन्।

यस्तै जुम्लाको एकमात्र चन्दननाथ नगरपालिका– ८, ९, १० वडामा पर्ने खल्लागाउँ, सिलाम, बारकोटेवाडा, उमगाड, श्रीढुष्का, तलिउम, माझउम, जातिभिडलगायत बस्तीले पनि वर्षौदेखि टेलिफोन सेवाको समस्या भोग्दै आएको स्थानीय सम्राट दमाईले बताए । त्यस्तै, तिला, पातारासी, कनकासुन्दरी, गुठिचौर सिंजाका दुर्गम बस्तीमा सञ्चार असुविधा वर्षौदेखि रहँदै आएको छ । स्थानीय सरकार आएर पहल गरे पनि उपलब्धि देखिएको छैन ।

सञ्चार सेवा सुधार्न ध्यानाकर्षण

जुम्लाका ग्रामीण बस्तीका नागरिकले वर्षौदेखि भोग्दै आएको संचार समस्यालाई मध्यनजर गर्दै तत्काल सुधार गर्नका लागि ध्यानाकर्षण गराइएको छ । हाँकु लाग्नालगायतका थुप्रै टावरमा घाम लागेपछि मात्रै नेटवर्क आउने समस्या रहेकाले सुधार गर्न प्रशासनमार्फत् ध्यानाकर्षण गराइएको तातोपानी गाउँपालिका–४ का वडाध्यक्ष अम्मर रोकायाले बताए ।

उनले भने, “डेढ वर्षदेखि नेपाल टेलिमकले नेटवर्क सुधार गर्न माग गरे पनि बेवास्ता भएको छ । अन्तिम पटक ध्यानाकर्षणपत्र दिएका छौ । अब पनि सुधार नभएमा दूरसंचारकै कार्यालयमा तालाबन्दी गर्छौं ।” आजको समयमा पनि निर्वाध रुपमा संचार सेवा पाउने अधिकार सम्बन्धित निकायको लापबारहीले कुण्ठित भएको प्रति नागरिक अगुवा राजबहादुर महतले आपत्ति जनाए । ध्यानाकर्षण पत्र बुझदै जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जुम्लाको टेलिफोन सेवा सुधारका लागि ध्यानाकर्षण भएको र पहल थाल्ने बताए ।