किसानलाई आलुको बिउ वितरण

काठमाडौं ।इलाम नगरपालका चार वडा कार्यालयले किसानलाई एक सय ४२ मन आलुको बिउ वितरण गरेको छ ।

किसानलाई हिउँदे आलुको बिउ वितरण गरिएको हो ।

किसानको १० प्रतिशत लागत साझेदारीमा वडाले उन्नत जातको आलुको बिउ वितरण गरेको वडा अध्यक्ष नुतनदेव दुलालले बताए ।

उनले आर्थिक विकास कार्यक्रम अन्तरगत किसानलाई विभिन्न जातका आलु वितरण गरेको बताए ।

राम्रो उत्पादन होस भनेर किसानलाई उन्नत जातका बिउ वितरण गरिएको छ ।

कृषि अनुसन्धान परिषद जौबारीमा उत्पादन भएका जनकदेव र खुमल सेतो लगायतका बिउ वितरण गरिएको जनाइएको छ ।

वडाध्यक्ष दुलालका अनुसार वडाले व्यवसायिक फर्मलाई १५ केजी र व्यक्तिलाई ५ किलो ग्रामका दरले वीउ वितरण गरिएको छ ।

कृषि अनुसन्धान परिषद जौबारीबाट किसानलाई थोरै बिउ ल्याउन समस्या भइरहेका बेला वडा कार्यालयले नै बिउ वितरण गरेपछि स्थानिय किसान खुसी भएका छन् ।

वडा कार्यालयका अनुसार अनुसन्धान परिषदबाट खरिद गरि वडाका ७ सय ९६ घर परिवारलाई ५६ सय ८० केजी बिउ वितरण गरिएको जनाइएको छ ।

स्थानिय हावापानीमा राम्रो मानिने साथै थोरै लगानीमा धेरै प्रतिफल दिने भएकोले यो जातको आलुलाई सिफारिस गरिएको वडाअध्यक्ष दुलालको भनाइ छ ।

आलु विशेष गरेर हिँउँदे र बर्खे गरेर दुई सिजनमा उत्पादन गर्ने गरिएको छ ।

हिउँदे आलु फागुन चैत्र महिनामा उत्पादन हुन्छ भने बर्खे आलु जेठ, असारमा उत्पादन हुने गरेको छ ।

आलु रोपेको चार देखी पाँच महिनामा उत्पादन हुने गरेको छ ।

वडाले हरेक वर्ष किसानलाई उन्नत जातको आलुको बीउ, मकै, जै घाँस, सागसब्जीको बिउ विजन, टनेललगायतका सामग्री वितरण गर्दै आएको छ ।

यसअघि सो वडाले उन्नत जातका गाई, बाख्रा, तथा सुँगुरका पाठासमेत किसानलाई वितरण गर्दै आएको छ ।